सुपर–८ मा आज डबल धमाका: श्रीलंका–इंग्ल्यान्ड र भारत–दक्षिण अफ्रिका भिड्दै

कोल्हवी न्यूज
२०८२ फाल्गुन १०, आईतवार ०७:१७ गते

आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर–८ चरणका खेलहरू रोमाञ्चक बन्दै गएका छन्। शनिबारदेखि सुरु भएको यस चरणको पहिलो खेल वर्षाले प्रभावित भएपछि न्युजिल्यान्ड र पाकिस्तानले अंक बाँडेका थिए।

२० राष्ट्र सहभागी प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा प्रवेश गरेका छन्।

सुपर–८ को समूह ‘एक’मा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे छन् भने समूह ‘दुई’मा इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन्।

आइतबार हुने पहिलो खेलमा श्रीलंका र इंग्ल्यान्ड आमनेसामने हुँदैछन्। इंग्ल्यान्ड समूह ‘सी’बाट तीन जित र एक हारसहित उपविजेता बन्दै सुपर–८ मा पुगेको हो भने श्रीलंका समूह ‘बी’बाट समान नतिजासहित अगाडि बढेको हो। दुवै टोलीबीचको खेल दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।

दोस्रो खेलमा साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ। भारतमा हुने यो खेल साँझ ७ बजेर १५ मिनेटमा सुरु हुनेछ। भारत समूह ‘ए’को विजेता र दक्षिण अफ्रिका समूह ‘डी’को विजेता बन्दै सुपर–८ मा पुगेका हुन्। दुवै टोली समूह चरणमा अपराजित छन्।

टी–२० विश्वकप २०२६ को फाइनल फागुन २४ गते हुनेछ। यसपटक नेपाल भने समूह चरण पार गर्न नसकी घर फर्किसकेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*