‘जिरो डिग्री’मा सनिशा भट्टराई मुख्य नायिका

कोल्हवी न्यूज
२०८२ फाल्गुन ८, शुक्रबार १३:२० गते

नेपाली चलचित्र क्षेत्रको बहुप्रतीक्षित प्रोजेक्ट ‘जिरो डिग्री’मा मुख्य नायिकाको रूपमा सनिशा भट्टराई अनुबन्धित भएकी छन्। निर्माण टिमले चलचित्रको प्रमुख महिला पात्रका लागि उनलाई चयन गरेको जानकारी दिएको छ।

यसअघि व्यङ्ग्यात्मक गीत ‘अरे हो नेता जी’ सार्वजनिक गर्दै चर्चा कमाएको चलचित्रमा सनिशाको आगमनसँगै कलाकारहरूको सूची थप सशक्त बनेको छ। रङ्गमञ्च र फिल्म दुवै माध्यममा प्रभावशाली अभिनयका लागि चिनिने विजय बराल यस चलचित्रमा मुख्य भूमिकामा छन्। सनिशा र विजयको जोडी केन्द्रीय भूमिकामा देखिने हो वा फरक–फरक कथापात्रमा प्रस्तुत हुने हुन् भन्ने विषय भने निर्माण पक्षले गोप्य राखेको छ।

केही दिनअघि मात्र सार्वजनिक गरिएको ‘अरे हो नेता जी’ गीतमा विजय बरालसँगै अङ्कित बाबु अधिकारी को स्वर रहेको छ। युवराज काफ्लेको शब्द तथा अङ्कित बाबु अधिकारीकै सङ्गीतमा तयार गीतले समसामयिक राजनीति र विकासका नाममा हुने प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गरेको छ।

मेघौली फिल्म्स को ब्यानरमा निर्माण हुन लागेको ‘जिरो डिग्री’ डार्क कमेडी जनरामा आधारित चलचित्र हो। कथावस्तु सडक सञ्जाल नपुगेको दुर्गम गाउँमा केन्द्रित छ, जहाँ आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान गाउँ आइपुगुन्जेल शव सुरक्षित राख्न ‘डीप फ्रिज’ बोकेर लैजाँदा उत्पन्न हुने जटिल र उथलपुथलपूर्ण घटनाक्रम प्रस्तुत गरिनेछ।

चलचित्रको निर्देशन तथा पटकथा आकास बराल र साजन काफ्लेले संयुक्त रूपमा गर्दैछन्। कथाकार राजन भुसालले अभिनयसमेत गर्नेछन् भने कार्यकारी निर्माता मोती कार्की रहेका छन्। छायाङ्कन निशाल पौडेलले गर्ने र वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्ने निर्माण टिमले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*