प्रधानन्यायाधीशको राजीनामा माग्दै पौडेलले भने-‘छिटो छोडे सम्मानजनक नत्र असम्मानजनक’
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई छिटोभन्दा छिटो पदबाट राजीनामा दिन माग गरेका छन् । प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिए मात्रै उनको सम्मानजनक बहिर्गमन हुने उनले बताए ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले मंगलबार बिहान हेटौंडामा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । प्रधानन्यायाधीश जबराले केही दिनअघि मात्रै आफ्नो सम्मानजनक बहिर्गमनको कुरा गरेको उल्लेख गर्दै त्यसको जवाफ स्वरुप नेता पौडेलले यस्तो बताएका हुन् ।
तर राजीनामा दिन ढिलाइ गर्दै गए उनको बहिर्गमन असम्मानजनक हुने पौडेलको चेतावनी थियो । यस्तै प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको नेता पौडेलको आरोप थियो ।
‘अरु संस्था त ध्वस्त भए, भए । देशमा जनताको एउटा न्यायको अन्तिम मन्दिर आज सर्वोच्च अदालत ध्वस्त भइरहेको छ । सर्वोच्च अदालतको यो हाल भइरहेको छ । अब अहिले प्रधानन्यायाधीशले अस्ति मात्रै भन्नु भयो–ल ल म छोड्न त छोड्छु तर मलाई सम्मानजनक बहिर्गमनका लागि मौका दिनुस् । मैले त हिजो भन्दिएँ–जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक । जति ढिलो छोड्नु हुन्छ, त्यति असम्मानजनक हुन्छ तपाइँको । किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्,’ नेता पौडेलले बताएका छन् ।
यसवाहेक प्रधानमन्त्रीहरूले पनि प्रधानन्यायाधीशसँग सेटिङ गर्ने गरेको उनको आरोप थियो । ‘सेटिङ गर्नु भएको क–कसले ? यो देशका प्रधानमन्त्रीहरू सेटिङ गर्ने अदालतसित । तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु भन्दै । यो अवस्थामा देश किन पुग्यो रु’ पौडेलले प्रश्न गरेका थिए, ‘संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदिने प्रधानन्यायाधीश । यो सेटिङ गरेको हो कि होइन ?









