मच्छिन्द्रलाई झापा गोल्डकपको ताज, एपीएफ ३–१ ले पराजित
सातौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ। हिजो सम्पन्न फाइनलमा मच्छिन्द्रले सशस्त्र प्रहरीको एपीएफ फुटबल क्लब लाई ३–१ गोलअन्तरले हराउँदै उपाधि उचालेको हो।
उपाधिसँगै मच्छिन्द्रले नगद १५ लाख रुपैयाँ हात पारेको छ भने उपविजेता एपीएफले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ। फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रदीप बुढाथोकी ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै २५ हजार रुपैयाँ पुरस्कार जित्न सफल भए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी पेमा तामाङ घोषित हुँदै मोटरसाइकल पुरस्कार प्राप्त गरे। उत्कृष्ट गोलकिपर विशाल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षक प्रवेश कटवाल र सर्वाधिक गोलकर्ता जोनाथन जोरिल्ला घोषित भए। उनीहरूले जनही ३५ हजार रुपैयाँ नगद पुरस्कार पाए।
यस्तै, टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रीति मोक्तानले स्कुटर जितिन्।
प्रतियोगितामा नेपालका तीन विभागीय टोलीसहित विभिन्न ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र मलेसियाका क्लबहरूको सहभागिता रहेको आयोजकले जनाएको छ।










