आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग प्रतिस्पर्धा गर्दैछ। पहिलो खेलमा इङ्ल्यान्डसँग झिनो ४ रनले पराजित भएको नेपाल आजको खेलमा पुनरागमन गर्दै पहिलो जित हात पार्ने लक्ष्यमा छ।
नेपाल र इटालीबीचको खेल मुम्बईस्थित वानखेड़े स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउँदै नेपाल अन्तिम क्षणसम्म लडेको थियो तर जितबाट चार रनले टाढा रह्यो। अघिल्लो संस्करणमा पनि नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो। हालसम्म दुईपटक विश्वकप खेलेको नेपाल समूह चरण पार गर्न भने सफल हुन सकेको छैन।
समूह ‘सी’ मा रहेको नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेलिरहेको छ। यस समूहमा दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, स्कटल्यान्ड र पहिलोपटक विश्वकप खेलिरहेको इटाली रहेका छन्। बंगलादेशले प्रतियोगिता नखेलेपछि आईसीसी बरियताका आधारमा स्कटल्यान्डले स्थान पाएको हो।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेखलगायत अनुभवी तथा युवा खेलाडी समावेश छन्। इटालीका लागि भने यो पहिलो विश्वकप सहभागिता हो।
दुवै टोली पहिलो खेलमा पराजित भएकाले आजको खेल महत्वपूर्ण बनेको छ। इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो। त्यसैले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा टिकिरहन दुवै टिममाथि दबाब छ।
नेपालले तेस्रो खेल फागुन ३ गते वेस्ट इन्डिजसँग र फागुन ५ गते स्कटल्यान्डसँग खेल्नेछ। आजै विश्वकपअन्तर्गत बिहान ११:१५ बजे श्रीलंका र ओमान तथा साँझ ७:१५ बजे भारत र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ।










