रौतहटमा पेट्रोल पम्पमा कर्मचारीमाथि कुटपिट, सञ्चालकले सुरक्षा र कारबाहीको माग
रौतहट — गरुडा नगरपालिका–६ शिवनगरस्थित आदर्श आयल स्टोर्समा कार्यरत कर्मचारीमाथि गत माघ १५ गते राति कुटपिट भएको घटनापछि सञ्चालक रामबाबु प्रसाद चौधरीले सुरक्षा प्रत्याभूति र दोषीमाथि कारबाहीको माग गर्नुभएको छ।
स्थानीय केही युवाको समूहले राति करिब ९:२० बजे पेट्रोल पम्पका कर्मचारी रञ्जितकुमार चौधरी र रोहितकुमार चौधरीमाथि हातपात गरेको आरोप लागेको छ। घाइतेमध्ये रञ्जितकुमार चौधरीको नाकको शल्यक्रिया गर्न काठमाडौं रिफर गरिएको छ।
सञ्चालक चौधरीले भने, “सीसीटीभी फुटेज र प्रत्यक्षदर्शी कर्मचारीका बावजुद प्रहरी प्रभावकारी कदम नचालेको देखिन्छ। कानुनी राज्यमा दोषी उम्कन नपाउन स्थानीय प्रशासन सचेत हुनुपर्छ।”
तर इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक शंकर आचार्यले प्रारम्भिक अनुसन्धान अनुसार घटना कर्तव्य ज्यानअन्तर्गत नपर्ने र अभद्र व्यवहार मात्र भएको देखिएको जानकारी दिनुभयो। उहाँले पीडितलाई मुद्दा दर्ता गर्न आग्रह गर्दै पेट्रोल पम्पतर्फबाट पनि हातपात भएको देखिएको उल्लेख गर्नुभयो।
उपरीक्षक आचार्यले प्रहरीले दोषीलाई कारबाही गर्ने क्षमता रहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको पनि स्पष्ट पार्नुभयो।










