११ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका अभियुक्त सिरहाबाट पक्राउ समाचार (फरक
सिरहा — कर्तव्य ज्यान मुद्दामा संलग्न भई करिब ११ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ। वि.सं. २०७१ सालदेखि फरार रहेका साविक औरही गाउँ विकास समिति–८ निवासी ५६ वर्षीय मिठु साफी धोवीलाई प्रहरीले माघ १५ गते आफ्नै गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार वि.सं. २०७१ भदौ १९ गते बिहान स्थानीय ४५ वर्षीय डोमा सदाय आफ्नै घरमा मृत फेला परेका थिए। घटनापछि मृतककी पत्नी अमोलिया देवी सदायले किटानी जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानका क्रममा घटनाको रात मिठु साफी धोवी र डोमा सदायबीच मादक पदार्थ सेवनपछि विवाद तथा झै–झगडा भएको खुलेको थियो। सोही घटनापछि मिठु साफी फरार भएका थिए।
लामो समयको खोजतलासपछि उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। पक्राउ परेका अभियुक्तलाई माघ १९ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको छ।
प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेश बहादुर पालका अनुसार घटनासम्बन्धी थप कानुनी अनुसन्धान जारी रहेको छ।









