भारतीय बुलेटको भर, आफ्नै बुलेट थन्किँदा काठमाडौँमा ग्यास संकट

कोल्हवी न्यूज
२०८२ माघ २०, मंगलवार १५:३७ गते

काठमाडौँ उपत्यका लगायत देशका विभिन्न सहरमा फेरि ग्यास अभाव चर्किएको छ। बजारमा ग्यास नपाएपछि उपभोक्ताहरू रित्ता सिलिन्डर बोकेर बालाजुस्थित नेपाल ग्यास उद्योगको कार्यालयसम्म लाइन लाग्न पुगेका छन्। दैनिक उपभोग्य वस्तु ग्यासकै लागि यसरी धाउनुपर्दा सर्वसाधारण थप मर्कामा परेका छन्।

नेपाल आयल निगमले बजारमा अन्य ग्यास ब्रान्ड सहज रहेको र नेपाल ग्यासमा मात्र आन्तरिक समस्या देखिएको दाबी गरिरहेको छ। तर ग्यास उद्योगीहरू भने समस्या सतही नभई संरचनागत रहेको बताउँछन्। उनीहरूका अनुसार भारतीय रिफाइनरीमा आएको प्राविधिक समस्या र खपत बढ्नु तत्कालीन कारण भए पनि ग्यास अभावको मूल जड नेपालसँग आफ्नै ग्यास ढुवानी संयन्त्र नहुनु हो।

ढुवानीमै अड्किएको आपूर्ति चक्र

नेपाली बजारमा एलपी ग्यास आपूर्तिको सबैभन्दा कमजोर कडी ढुवानी प्रणाली बनेको छ। नेपाल पूर्ण रूपमा भारतीय नम्बर प्लेटका ग्यास बुलेटमा निर्भर छ। भारतीय ढुवानीकर्ताहरूले नेपालतर्फ ग्यास बोक्न चासो नदेखाउँदा आपूर्ति चक्र पटक–पटक अवरुद्ध हुँदै आएको उद्योगीहरूको भनाइ छ।

नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेका अनुसार भारतमै ढुवानी गर्दा बढी भाडा पाइने, नेपालको पहाडी बाटो जोखिमपूर्ण हुने, मर्मत खर्च बढ्ने र दुर्घटना भए कानुनी झन्झट थपिने कारण देखाउँदै भारतीय बुलेटहरू नेपाल आउन हिचकिचाउँछन्।

७ वर्षदेखि थन्किएका ‘नेपाली बुलेट’

ग्यास अभावको दीर्घकालीन समाधानका लागि करिब सात वर्षअघि नेपाली व्यवसायीहरूले आफ्नै ग्यास बुलेट सञ्चालन गर्ने योजना अघि सारेका थिए। नेपाल आयल निगमले आत्मनिर्भरता बढाउने भन्दै ग्यास बुलेट खरिदमा दुई तिहाइ भन्सार छुटको व्यवस्था पनि गरेको थियो।

सोही प्रोत्साहनपछि व्यवसायीहरूले ७७५ वटा ग्यास बुलेट खरिद प्रक्रिया अघि बढाउँदै धरौटीसमेत बुझाएका थिए। परीक्षणका लागि दुईवटा बुलेट नेपाल ल्याइए पनि ती बुलेटहरू सात वर्षदेखि हेटौँडामा थन्किएर खिया लागिरहेका छन्।

घिमिरे भन्छन्, “नमुनाका रूपमा ल्याएका दुई बुलेट नै चल्न सकेनन्। भारतले नेपाली नम्बर प्लेटका बुलेटलाई आफ्ना रिफाइनरीबाट ग्यास बोक्न अनुमति नदिँदा बाँकी बुलेट खरिद प्रक्रिया नै रोकियो।”

भारतको अनुमति नै मुख्य बाधा

निगमका अधिकारीहरूका अनुसार भारतीय पक्षले नेपाली ग्यास बुलेटको गुणस्तर र सुरक्षा मापदण्डमा प्रश्न उठाउँदै आफ्ना रिफाइनरी र डिपोमा प्रवेश अनुमति नदिएको हो। तर उद्योगीहरू भने भारतीय बुलेट निर्माण भएकै कारखानामा बनेका बुलेटलाई असुरक्षित भन्नु तर्कसंगत नभएको बताउँछन्।

उद्योगीहरूको आरोप छ—नेपाल सरकार र निगमले कूटनीतिक तथा प्राविधिक तहमा प्रभावकारी पहल गर्न नसक्दा अर्बौं रुपैयाँ लगानी जोखिममा परेको छ र नेपाल सधैँ भारतीय ढुवानीकर्तामै निर्भर हुन बाध्य भएको छ।

बरौनी रिफाइनरीको असर

हाल भारतको बरौनी रिफाइनरीमा आएको प्राविधिक समस्याका कारण ग्यास लिन टाढाका रिफाइनरीसम्म जानुपरेको छ। यसले एक खेप ग्यास ल्याउन लाग्ने समय बढाएको छ, जसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको छ।

यदि नेपालसँग आफ्नै ग्यास बुलेट सञ्चालनमा रहेको भए यस्ता परिस्थितिमा आन्तरिक व्यवस्थापन सहज हुने र ग्यास संकट टार्न सकिने घिमिरेको तर्क छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*