मकवानपुरमा फरार प्रतिवादी तीव्र रुपमा पक्राउ
हेटौंडा, १९ माघ– हातहतियार, लागुऔषध, चोरी तथा चेक अनादरसम्बन्धी मुद्दामा अदालतबाट सजाय तोकिए पनि लामो समयदेखि फरार रहेका सात जना प्रतिवादीलाई मकवानपुर प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हातहतियार तथा लागुऔषध मुद्दामा दोषी ठहर भएका कैलाश गाउँपालिका–६ का २७ वर्षीय विजय मोक्तान पक्राउ परेका छन्। जिल्ला अदालत मकवानपुरले उनलाई दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
त्यसैगरी, लागुऔषध मुद्दामै एक महिना १७ दिन कैद सजाय पाएका हेटौंडा उपमहानगरपालिका–१७ का ३८ वर्षीय अर्जिनकुमार राउतलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। हेटौंडा–१४ का ३१ वर्षीय चन्द्रबहादुर गोलेलाई भने आफ्नै घरबाट पक्राउ गरिएको हो। उनलाई अदालतले एक वर्ष कैद र पाँच हजार चार सय रुपैयाँ जरिवाना तोकेको थियो।
चोरी मुद्दामा चार महिना कैद सजाय पाएर फरार रहेका हेटौंडा–१६ का २८ वर्षीय विनय विकलाई पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। सोही मुद्दामा फरार रहेका हेटौंडा–१९ का मनोज लामा र आकाश तामाङलाई पनि नियन्त्रणमा लिइएको छ। अदालतले उनीहरूलाई जनही तीन–तीन महिना कैद सजाय सुनाएको थियो।
यसैबीच, चेक अनादर मुद्दामा दोषी ठहर भई फरार रहेका हेटौंडा उपमहानगरपालिका–१३ का ३८ वर्षीय बुद्ध गोले पनि प्रहरीको फन्दामा परेका छन्। उनलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीका अनुसार पक्राउ परेका सबै प्रतिवादीहरू अदालतको फैसला पछि गाउँमै लुकिछिपी बसिरहेको अवस्थामा भेटिएका हुन्। उनका अनुसार अदालतका फैसलाहरू कार्यान्वयन गर्ने लक्ष्यसहित फरार प्रतिवादी खोजी अभियानलाई थप तीव्र बनाइएको छ।
प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्म ६३ जना फरार प्रतिवादीलाई पक्राउ गरी अदालतमा बुझाइसकेको छ।










