धनुषामा आश्रम र स्थानीयबीच हिंसात्मक झडप, दर्जनभन्दा बढी घाइते

कोल्हवी न्यूज
२०८२ पुष २६, शनिबार १५:५५ गते

धनुषाको मिथिला नगरपालिका–२, नक्टाझिज सुग्जोरस्थित सतलोक आश्रम र स्थानीयबासीबीच जमिन विवादका कारण हिंसात्मक झडप भएको छ। झडपमा दुबै पक्षका एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

स्थानीय स्रोतका अनुसार, आश्रमले लामो समयदेखि ऐलानी जग्गा अनधिकृत रूपमा प्रयोग गर्दै आएको विषयमा विवाद चल्दै आएको थियो। जग्गा खाली गराउन पुगेका स्थानीय र आश्रमका अनुयायीबीच भनाभन चर्किँदा झडपमा परिणत भएको हो।

आक्रोशित स्थानीयहरूले जनकपुर–ढल्केवर सडकखण्डअन्तर्गत महेन्द्रनगर–औरही पुल क्षेत्रमा सडक अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। आश्रमका अनुयायीहरूले स्थानीयलाई लखेट्दै कुटपिट गरेपछि झडप थप उग्र बनेको बताइएको छ। स्थानीय प्रदर्शनकारीहरूले आश्रमबाट निस्केको एउटा एम्बुलेन्समा समेत तोडफोड गरेका थिए।

स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा लिन ६ वटा सेल अश्रुग्यास प्रहार गरेको छ। घाइतेहरूलाई उपचारका लागि जानकी मेडिकल कलेज र प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*