बाढी आएका ठाउँमा एमालेको अधिवेशन रोकिने, स्थायी कमिटी बैठक आज पनि

कोल्हवी न्यूज
२०७८ कार्तिक ५, शुक्रबार ०७:३१ गते

नेकपा एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ ।

‘बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भयो, यसक्रममा अधिवेशनको विधि र प्रक्रियामाथि छलफल भयो,’ एमाले स्थायी कमिटीका एक नेताले रातोपाटीसँग भने, ‘भोलि शनिबार देशभर वडा अधिवेशनहरू हुँदैछन्, तर बाढी पहिरोको चपेटामा परेका वडाहरूको अधिवेशनहरू पछि सर्ने सम्भावना छ ।’

नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । यसअघि बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा सार्ने निर्णय बिहीबारको बैठकले गरेको हो ।ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बिहीबार बसेको स्थायी समितिको बैठकले रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ ।

महाधिवेशनमा प्रतिनिधिहरु बहुमतीय आधार छान्ने कि सहमतिका आधारमा भन्नेबारे स्थायी कमिटीमा छलफल भएको नेताहरुले बताएका छन् । स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

विधान महाधिवेशनबारे दुईथरि समीक्षा

बिहीबारको बैठकमा हालै गोदावरीमा सम्पन्न विधान महाधिवेशनको समीक्षा भएको थियो । समीक्षाका क्रममा रघुजी पन्त, घनश्याम भुसाल, युवराज ज्ञवाली, भीम रावल लगायतका तेस्रो धारका नेताहरुले विधान महाधिवेशनमा नीतिगत छलफल राम्रोसँग हुन नसकेको बताएका थिए भने ओली पक्षका नेताहरुले चाहिँ विपक्षीलाई गतिलो सन्देश दिने गरी भब्यरुपमा सफल भएको समीक्षा गरेका थिए ।

१० बुँदेबारे ओलीमाथि प्रश्न

बिहीबारको स्थायी कमिटीको बैठकमा बोल्ने क्रममा तेस्रो धारका नेता घनश्याम भुसालले केपी ओलीलाई १० बुँदे सहमतिको किन विरोध गरेको भनेर प्रश्न गरे । नवौं महाधिवेशन यता आफ्नो गुटका मानिसलाई मात्रै अवसर दिएर अध्यक्षले गुटबन्दी गरेको भुसालले आरोप लगाए ।

भुसालको आरोपको प्रतिवाद गर्दै अध्यक्ष ओलीले आफूले गुटबन्दी नगरेको जिकिर गरे । तर, १० बुँदेका विषयमा भने उनले आजको बैठकमा जवाफ दिने नेताहरुले बताएका छन् ।

बुधबार एक कार्यक्रममा बोल्ने क्रममा अध्यक्ष ओलीले १० बूँदे १० बुँदे भन्दै ट्याङ ट्याङ नगर्न चेतावनी दिएपछि तेस्रो धारका नेताहरु ओलीप्रति आक्रोशित बनेका थिए । विहीबार बैठकमा बोल्ने क्रममा तेस्रो धारका नेताहरुले १० बुँदे कार्यान्वयन हुनुपर्ने भन्दै ओलीलाई जथाभावी नबोल्न चुनौती दिएका छन् । रातोपाटीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*