सर्लाहीमा जंगली हात्ती बस्तीमा छिरेर आतंक मचाउदै
सर्लाहीमा जंगली हात्ती बस्तीमा छिरेर आतंक मचाएका छन्। चार दिनदेखि जिल्लाको बागमती नगरपालिकाको शंकरपुर र राजघाट जंगल छेउछाउका बस्तीमा जंगली हात्तीले स्थानीयको घर भत्काउने, घरमा राखेको अन्न र खेतबारीमा लगाइएको बालीनाली नष्ट गरेका छन्।
यसै क्रममा बुधवार राति तीनवटा जंगली हात्तीले बागमती नगरपालिका(१० नयाँबस्तीमा एउटा घर भत्काएका छन्। हात्तीले स्थानीय राजकिशोर मुखियाको घरको बेराघेरा भत्काएका छन्। हात्तीले घरभित्र राखेको धान, चामल, दाल गहुँ लगायतका अन्न खाइदिएका छन्। हात्ती आएको थाहा पाएपछि घरका मानिसले भने भागेर ज्यान जोगाएका छन्।
यस्तै नगरकै वडा नम्बर(५ राजघाट पुरानो सोल्टीमा स्थानीय रामु कार्कीको १० बिघा र मोहन कार्कीको २० बिघामा लगाएको केरा खेतीमा क्षति पुर्याएको छ। हात्तीले दुवैजनाको एकरएक लाख बराबरको केरा नष्ट गरेको किसान रामु कार्कीले गुनासो गरेका छन्। उनले सम्बन्धित निकायले हात्ती नियन्त्रणका लागि पहल गर्नुपर्ने माग गरे।
गाउँमा अचानक जंगली हात्ती देखा परेपछि स्थानीय बासिन्दा त्रसित भएको बागमती नगरपालिका(१० का वडाध्यक्ष शेष जुबेरले बताए। सर्लाहीमा महिनौंदेखि जारी हात्तीआतंक नरोकिँदा सर्लाहीको ईश्वरपुुर, लालबन्दी, हरिवन, बागमती नगरपालिकाको वनक्षेत्र छेउछाउ घर भएका स्थानीय त्रासमा दिन काट्न बाध्य छन्।
सोमबार मात्रै बागमती(५ राजघाटका स्थानीय प्रभु सुस्लिङ मगरको घरमा जंगली हात्तीले क्षति पुर्याएका थिए। हात्तीले घरको बेराघेरा भत्काई भित्र रहेका टिभी, टेबुल, कुर्सी लगायतका सामानमा क्षति पुर्याएको पीडित मगरले बताएका छन्। जनकपुरपाटीबाट









