सलोन र रुविनालाई लिएर अर्को फिल्म बनाउँदै शोभित

कोल्हवी न्यूज
२०७८ कार्तिक ५, शुक्रबार ०७:०२ गते

शोभित बस्नेत निर्देशित मल्टीस्टारर फिल्म ‘डाँडाको बर पीपल’ यतिबेला सिनेमा घरमा दोस्रो हप्तामा प्रदर्शनरत छ । तर, फिल्मले दर्शकको गतिलो साथ पाउन सकेको छैन । जिब्रो नचपाइ भन्ने हो भने फिल्म पत्तासाफ भइसकेको छ । तर, फिल्म नचलेकोमा निर्मातालाई कुनै चिन्ता छैन । किनकि, यो फिल्म सिनेमा हलका लागि नभइ डिजिटल प्लेटफर्ममा रिलिज गर्न बनाइएको थियो ।

दशैंमा फिल्म रिलिज गर्न कोही निर्माता तयार नहुनु र चलचित्र विकास बोर्डले तत्काल रिलिज हुने फिल्मलाई राहत दिने घोषणा गरेपछि ‘डाँडाको बरपीपल’ लाई हलमा रिलिज गर्ने निर्णय गरिएको थियो । यो फिल्मलाई हलमा रिलिज गर्न निर्माताको एक रुपैयाँ पनि खर्च भएको छैन । बरु, उल्टै केही लाख फाइदा भएको छ । यही तिहारमा फिल्मलाई डिजिटल प्लेटफर्ममा रिलिज गरिनेछ ।

फिल्म रिलिजको समयमा शोभितले ‘महानायक’ विवाद झिकेपछि बुढासुब्बा डिजिटलका सञ्चालक तथा फिल्मका निर्माता नवराज गिरी उनीसँग रुष्ट थिए । अब उनीहरुबीच कहिल्यै सहकार्य नहुने चर्चा नचलेको पनि होइन । तर, उनै शोभितलाई निर्देशकमा लिएर बुढासुब्बाले अर्को फिल्म बनाउने भएको छ । तिहारपछि छायांकनमा जाने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

निर्देशक बस्नेत नयाँ फिल्ममा पनि सलोन बस्नेत र रुविना थापालाई नै दोहोर्‍याउने सोचमा छन् । उनले भने, ‘कलाकार फाइनल भइसकेका छैनन् तर अहिलेसम्म मेरो दिमागमा सलोन र रुविनाको अनुहार आएको छ । गौरी मल्ल र राजिवजंग बस्नेतको पनि अभिनय रहन सक्छ । केही दिनमा फिल्मको नामसँगै कलाकारको पनि टुंगो लगाउने छौं ।’ फिल्म प्रेमकथामा आधारित हुनेछ ।

सलोन र रुविनाले ‘डाँडाको बर पीपल’ मा प्रेम जोडी भएर काम गरेका थिए । यो फिल्ममा रुविनाको कामबाट प्रभावित भएर शोभितले नयाँ फिल्ममा पनि उनलाई लिने सोच बनाएका हुन् । फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको बरपीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*