पर्सागढि नगरपालिकामा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते
पर्सा जिल्लाको पर्सागढि नगरपालिका–३ झुलिटारमा आज बिहान घाँस संकलन गर्ने क्रममा बाघको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छन्। स्थानीय ५५ वर्षीया शान्तामाया श्रेष्ठ घाँस काट्न जंगल पसेकी बेला बाघले अचानक आक्रमण गरेको प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शीका अनुसार गाउँ नजिकै रहेको सबैया साझेदारी बनअन्तर्गत चिसापानी जंगल क्षेत्रमा उनी साथीहरूसँग घाँस काटिरहेका बेला बाघ झम्टिएको हो। साथीहरूले चर्को आवाज गर्दै त्रास उत्पन्न गराएपछि बाघ भागेको बताइएको छ।
आक्रमणबाट शान्तामाया श्रेष्ठको गाला, मुख, घाँटी र आँखामा गम्भीर चोट लागेको छ। हाल उनको वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको स्थानीय बिक्रम कार्कीले जानकारी दिए।
यसअघि पनि पर्सा वन्यजन्तु आरक्ष नजिकका पथलैया र सिमरा क्षेत्रमा बाघको गतिविधि बढ्दै गएकोमा पछिल्लो घटनाले स्थानीयवासी अझै त्रसित बनेका छन्। सुरक्षाबारे चिन्ता थपिँदै गएपछि प्रभावकारी जनसुरक्षा उपाय आवश्यक रहेको स्थानीय बासिन्दाले बताएका छन्।










