बर्दिवासमा ठुलो परिमाणको लागुऔषधसहित एक युवक पक्राउ
लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय बर्दिवासको संयुक्त टोलीले भारी परिमाणको नियन्त्रित लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।
बाराको निजगढ नगरपालिका–७ का २७ वर्षीय मुकेश दर्लामीलाई शुक्रबार साँझ बर्दिवास–१ स्थित भवसी पुल नजिक पैदल जाँदै गर्दा नियन्त्रणमा लिइएको हो। तलासी गर्दा तीन हजार ट्रामाडोल ट्याब्लेट बरामद गरिएको बताइएको छ।
बरामद लागुऔषधसहित पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा बुझाइएको छ।
ब्युरो प्रमुख सरोज अधिकारीका अनुसार, यसअघि कात्तिक १७ गते पनि बर्दिवास र लालगढबाट तीन जनासहित ४१ बोतल प्रतिबन्धित ओरोनेक्स सिरप बरामद गरिएको थियो।










