देउवाको पहिलो विदेश भ्रमण स्कटल्यान्डबाट
प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो विदेश भ्रमण युरोपेली मुलुक स्कटल्यान्ड हुने भएको छ। अघिल्ला प्रधानमन्त्रीहरु नियुक्त भएको केही समयमै छिमेकी भारत र चीन भ्रमणमा जाने चलन थियो। तर देउवा प्रधानमन्त्री भएको तीन महिना बित्दासम्म कुनै देशको पनि भ्रमण गरेका छैनन्।
प्रधानमन्त्री देउवा जलवायु परिर्वतनसम्बन्धी सम्मेलनमा सहभागी हुन कात्तिक तेस्रो साता स्कटल्यान्ड जाने निर्णय सोमबार मन्त्रिपरिषद् बैठकले गरेको हो। प्रधानमन्त्री देउवा जलवायु परिवर्नसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन स्कटल्यान्डको ग्लास्गो जाने कार्यक्रम छ।
देउवाको नेतृत्वमा ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
कोप२६ सम्मेलन ग्लास्गोमा अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म हुने भएको छ। सम्मेलन वार्षिक रूपमा हुने गर्छ र त्यसमा १९७ देशले जलवायु परिवर्तनलाई कसरी सम्बोधन गर्ने भन्नेबारे योजनाहरू बनाउन छलफल गर्छन्।









