न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमान्चक जित

कोल्हवी न्यूज
२०७८ कार्तिक २, मंगलवार ०५:५४ गते

अष्ट्रेलियाले आइसिसी टि२० विश्वकप २०२१ अघि वार्मअप खेलमा न्युजिल्यान्डमाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ । जितको लागि १ सय ५९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९।५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । अष्ट्रेलिया स्टिभ स्मिथले ३० बलमा ३ चौका सहित सर्वाधिक ३५ रनको योगदान दिए ।

अष्ट्रेलियालाई जितको लागि अन्तिम ६ बलमा १३ रन चाहिँएको थियो । तीव्र गतिका बलर काइल जेमिसनलाई चौथो र पाँचौं बलमा जोश इंगलिसले लगातार चौका प्रहार गर्दै अष्ट्रेलिया जित पक्का गराए । जेमिसनको अन्तिम ओभरको पहिलो बलम मिचेल स्टार्कले चौका प्रहार गर्दा दोस्रो बलमा एक रन बटुलेका थिए । तेस्रो बलमा एश्टन अगर कट एण्ड बोल्ड आउट भए ।

आरोन फिन्च र मिचेल मार्श २४–२४ रनमा आउट भए । ओपनर डेविड वार्नर पहिलो ओभरको पहिलो बलमै गोल्डेन डक आउट भएका थिए । टिम साउथीको बलमा मार्टिन गुप्टिलबाट वार्नर क्याच आउट हुन पुगे । मार्कस स्टोइनिसले २३ बलमा १ चौका र १ छक्का सहित २८ रनको योगदान दिए । एस्टन अगर १८ बलमा २ चौका र १ छक्का सहित २३ रनमा क्याच आउट भए । मिचेल स्टार्क १३ र जोश इंगलिश ८ रनमा अविजित रहे ।

न्युजिल्यान्डका स्पिनर मिचेल सान्टनरले ४ ओभरमा २२ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । ट्रेन्ट बोल्टले २, टिम साउथी र काइल जेमिसनले १–१ विकेट लिए । त्यसअघि आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । न्युजिल्यान्डका कप्तान केन विलियम्सनले ३० बलमा ५ चौका सहित सर्वाधिक ३७ रनको योगदान दिए । मार्टिन गुप्टिल ३० र ड्याल मिचेल ३३ रन बनाए ।

तल्लोक्रमका जेम्श निसमले १८ बलमा ३ चौका र २ छक्का सहित ३१ रन जोडेका थिए । अष्ट्रेलिया केन रिचर्ड्सनले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । एडम जाम्पाले २, एश्टन अगर र मिचेल स्टार्कले १–१ विकेट लिए ।

दुबै टोलीले टि २० विश्वकपको तयारीको लागि वार्मअप खेल खेलेका हुन् । दोस्रो वार्मअप खेलमा बुधबार न्युजिल्यान्डले इंग्ल्यान्डसँग तथा अष्ट्रेलियाले भारतसँग खेल्नेछन् । विश्वकपमा अष्ट्रेलियाले शनिबार दक्षिण अफ्रिकासँग खेल्दै सुरुवात गर्नेछ । न्युजिल्यान्डले आगमी मंगलबार पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ । न्युजिल्यान्ड सुपर १२ को समूह बी र अष्ट्रेलिया समूह ए मा छ ।

पहिलो चरणको समूह ए मा आयरल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र श्रीलंका छन् । समूह बी मा बंगलादेश, ओमान, पपुवा न्युगिनी र स्कटल्यान्ड छन् । समूह बी का खेलहरु ओमानमा हुनेछन् । पहिलो चरणको समूह ए र बी बाट शीर्ष दुई दुई टोली सुपर १२ मा स्थान बनाउनेछन् ।

सुपर १२ को समूह ए मा अष्ट्रेलिया, इंग्ल्यान्ड, वेस्टइन्डिज, दक्षिण अफ्रिका, पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता रहनेछन् । समूह बी मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, समूह बी को विजेता र समूह ए को उपविजेता रहनेछन् । शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । पहिलो चरणका खेलहरु सकिएपछि सुपर १२ का खेलहरु हुनेछन् । विश्वकपको फाइनल १४ नोभेम्बरमा हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*