जेनजी प्रदर्शनमा तोडफोड र लुटपाट गर्ने पूर्वसैनिक भुवन शाही पक्राउ

कोल्हवी न्यूज
२०८२ कार्तिक ११, मंगलवार १६:०७ गते

भदौ २४ गते राजधानीमा भएको जेनजी प्रदर्शनका क्रममा तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक पूर्वसैनिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका व्यक्ति कञ्चनपुरका २७ वर्षीय भुवन शाही हुन्। प्रहरीले उनी नयाँ बानेश्वर क्षेत्रबाट सोमबार पक्राउ गरेको हो। शाही हाल धापासीमा बस्दै आएका थिए।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार, शाहीले प्रहरी युनिट र शैक्षिक संस्था दुबैमा क्षति पुर्‍याएका थिए। अनुसन्धानका क्रममा उनले भदौ २४ गतेको प्रदर्शनमा दुई ठूला घटनामा संलग्नता देखिएको खुलेको छ— पहिलो, प्रहरी वृत्त गौशालामा गरिएको तोडफोड, आगजनी र लुटपाट; दोस्रो, ग्लोबल कलेजमा भएको तोडफोड र लुटपाट।

प्रहरीले शाहीको साथबाट प्रहरीको राइट कन्ट्रोल गियरको हातमा लगाउने भाग र ग्लोबल कलेजका दुई थान ट्रफी बरामद गरेको छ।

अनुसन्धानमा खुलेका अनुसार, शाही सन् २०७४ सालमा नेपाली सेनामा भर्ती भएका थिए। तर, नक्कली चालक अनुमति पत्र पेश गरेको पुष्टि भएपछि २०७५ सालमै सेनाबाट बर्खास्त गरिएका थिए।

पूर्वसैनिक नै आगजनी र लुटपाटमा संलग्न रहेको पाइनुले घटनाको गम्भीरता थप बढाएको प्रहरीले जनाएको छ। शाहीमाथि हाल थप अनुसन्धान जारी रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*