जसपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा
जनता समाजवादी पार्टी ९जसपा० प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।
प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए । यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो ।
यादवले राजीनामा दिएपछि प्रदेश २ का पार्टी अध्यक्ष को हुने विषयमा जनकपुरमा पार्टीभित्र छलफल चलिरहेको छ । अब प्रदेश २ को अध्यक्ष जनकपुर उपमहानगरपालिकाका मेयर तथा जसपाका केन्द्रीय सदस्य लालकिशोर साहलाई बनाउने सम्भावना रहेको बताइएको छ ।
मेयर साह महन्थ ठाकुर पक्ष छाडेर उपेन्द्र यादव पक्षमा लागेका थिए । प्रदेश २ को अध्यक्षको आकांक्षीमा लालकिशोरसँगै महोत्तरीका हरिनारायण यादव, धनुषाका रामअशिष यादव, बालकिशोर यादव, ज्ञानेन्द्र यादव, राजकिशोर यादव, शैलेन्द्र साहलगायत रहेका छन् । यीमध्ये सबभन्दा बढी चर्चा लालकिशोरको रहेको स्रोतले जनाएको छ ।









