स्वस्तिमाको ‘चिसो मान्छे’ बैशाख ३० मा
कोरोना महामारीका कारण साढे पाँच महिनादेखि बन्द रहेका सिनेमा हलहरु असोज २१ गते घटस्थापनाबाट खुलेपछि अभिनेत्री स्वस्तिमा खड्का अभिनीत फिल्म ‘चिसो मान्छे’ ले प्रदर्शन मिति घोषणा गरेको छ । फिल्मले आउँदो वर्षको बैशाख ३० गतेलाई प्रदर्शन मिति रोजेको हो । यो फिल्म गत वर्षको भदौमै प्रदर्शनमा आउने तयारीमा थियो । तर, कोरोनाका कारण सम्भव भएन ।
शनिवार निर्माण टिमले प्रदर्शन मिति घोषणा गर्दै फिल्मको थिम पोस्टर सार्वजनिक गरेको छ । जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब्याग देख्न सकिन्छ । वैदेशिक रोजगारीको शिलशिलामा मृत्य भएर बाकसमा फर्किएकाहरुको कथा फिल्मले वाचन गर्ने पोस्टरमार्फत् प्रस्ट्याउन खोजिएको छ ।
‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको फिल्ममा अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा छन् । यस्तै, फिल्ममा देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्मको निर्देशन, कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के। खनाल आफैंको हो । उनले आफूले सोचेको जस्तै फिल्म बनेको बताएका छन् ।









