राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साले सरकारलाई सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
रास्वपा पर्साका सभापति हरि पन्तको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी तोया नारायण सुवेदीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो। प्रमुख जिल्ला अधिकारी सुवेदीले यसबारे प्रधानमन्त्रीको कार्यालयलाई जानकारी गराउने आश्वासन दिएका छन्।
हरि पन्तले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले आम नागरिकको सूचनासँग सम्बन्धित मौलिक अधिकारको उल्लङ्घन गरेको र व्यवसायी, विद्यार्थी र सम्पूर्ण नेपालीको नागरिक अधिकार कुण्ठित भएको बताएका छन्। उनले सरकारले सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका अन्य विकल्प अपनाई सिधै बन्द गर्ने निर्णय निरङ्कुश शैलीको भएको आरोप लगाएका छन्।
ज्ञापनपत्र बुझाउने टोलीमा रास्वपा पर्साका सचिव सुदिस प्रजापति, सहसचिव कृष्ण पासवान, क्षेत्रीय सभापति राम आर्या, फैयाज मिया, नगर सभापति माधव बस्नेत र चन्दन गुप्ता लगायतको सहभागिता थियो।










