३ दिनसम्म आएन रिपोर्ट, पखालाका बिरामी थपिँदै

कोल्हवी न्यूज
२०७८ आश्विन २२, शुक्रबार ०६:५१ गते

दुई जनाको ज्यान जाने र ६ सय जनाभन्दा बढी बिरामी पर्ने गरी फैलिएको झाडापखाला प्रकोपको पहिचान गर्न संकलन गरिएको दिसाको रिपोर्ट तीन दिन बितिसक्दा पनि नआउँदा नियन्त्रणमा समस्या भएको छ । मंगलबार संकलन गरिएको दिसाको नमुना बिहीबार बल्ल परीक्षणका लागि काठमाडौं पठाइएको छ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगन्जस्थित शिवराज अस्पतालअगाडि रूखको फेद र खुला ठाउँमा उपचार गराइरहेका बिरामी । रिपोर्ट आउन थप एक दिन लाग्नेछ । हैजाको आशंका गरिए पनि नियन्त्रण अभावमा बिरामी थपिने क्रम बिहीबार पनि जारी छ । रोगको यकिन पहिचान नहुँदा नियन्त्रणको योजना नै बनेको छैन ।

आठ डाक्टरसहित २८ स्वास्थ्यकर्मीको टोली उपचारका लागि परिचालन गरिएको छ । बहादुरगन्जस्थित शिवराज अस्पतालमा बिहीबार मात्रै १ सय २५ जना नयाँ बिरामी थपिएका छन् । उनीहरूमा बान्ता, पखाला, पेट दुख्ने र कमजोरी हुने लक्षण छन् । कृष्णनगर नगरपालिकामा दूषित पानीका कारण प्रकोप फैलिएको आशंका छ ।

बहादुरगन्जबाट वितरण गरिएको खानेपानीका पाइप ठाउँ–ठाउँमा टुटफुट र लिकेज भएर संक्रमण फैलिएको प्रारम्भिक आकलन गरिएको नगर प्रमुख रजतप्रताप शाहले बताए । रोगको पहिचान गर्न मंगलबार विभिन्न क्षेत्रका पाँच जनाको दिसाको नमुना संकलन गरी बुटवल पठाइएको थियो । फिल्डमै खटिएका एक स्वास्थ्यकर्मीले भने, ‘रिपोर्ट आउन समय लाग्छ, कसरी नियन्त्रण गर्ने रु’ रोग पहिचान नहुँदा नियन्त्रणका लागि कुनै योजना नै नबनेको र प्रभावित गाउँमा पुगेर सचेतना जगाउने काम मात्र भइरहेको उनले बताए ।

लुम्बिनी प्रदेशको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिव डा। विकास देवकोटाले दूषित पानीकै कारण झाडापखाला फैलिएको बताए । उनका अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ । ‘हैजाकै आशंका बढेपछि संकलन गरिएको स्याम्पल परीक्षणका लागि आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएका छौं,’ उनले भने, ‘शुक्रबार बेलुका वा शनिबार बिहानसम्म मात्र परीक्षणको रिपोर्ट आउने सम्भावना छ ।’

तत्काल रिपोर्ट नआए पनि नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रका घरघरमा पुगेर खानेपानी उमालेर खान आग्रह गरिरहेको उनले बताए । त्यसले केही नियन्त्रणमा आएको उनको दाबी छ । मंगलबार र बुधबारको तुलनामा बिहीबार बिरामी कम भएको उनले बताए ।

शिवराज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। मुकेश चौधरीले बिरामी बढ्ने क्रम नरोकिएको बताए । ‘तीन वडाका गाउँ–गाउँमा बिरामी भएर कतिपय घरमै बसेका छन्,’ उनले भने, ‘गाह्रो भएपछि मात्र अस्पताल आइरहेका छन् ।’ अन्तिम अवस्थामा आउनेलाई अस्पतालमा सबै सुविधा नभएकाले रेफर गर्ने गरिएको उनले बताए । गाउँका निजी क्लिनिकमा उपचार गराउने पनि उत्तिकै संख्यामा छन् । सचिव देवकोटाले बिहीबारसम्म अस्पतालमा उपचार गराउन आउने बिरामीको संख्या ४ सय ७० पुगेको बताए । बिहीबारसम्म ३ सय १४ जना निको भएर डिस्चार्ज भएका छन् ।

अहिले अस्पतालमा ८७ जनाको उपचार भइरहेको देवकोटाले बताए । बढी सिकिस्त ३५ जनालाई बुधबार र ३४ जनालाई बिहीबार उपचारका लागि बुटवल, भैरहवा र तौलिहवा पठाइएको छ । १५ शय्याको अस्पतालमा ६ गुणा बढी बिरामी हुँदा धेरैलाई बाहिरै चौरमा राखेर उपचार गराइएको छ । एउटा बेडमा तीन जनासम्मको उपचार भइरहेको छ ।

अस्पतालमा ठाउँ अभाव भएपछि निजी क्लिनिकमा पनि बिरामीको भीड छ । बहादुरगन्जका झन्डै १० वटा निजी क्लिनिकमा १ सय जनाभन्दा बढीको उपचार भइरहेको स्थानीय अशोक पाण्डेले बताए । गाउँगाउँमा अझ पनि बिरामी थपिइरहेका छन् । ‘त्यसैले टोली बनाएर गाउँगाउँमै गएर उपचार गर्ने अभियान चलाउनुपर्छ,’ उनले भने, ‘नभए फेरि बिरामी अचानक बढेर महामारीको अवस्था आउन सक्छ ।’

अस्पतालमा अहिले प्रदेश र जिल्लाबाट सात जना डाक्टर आएर उपचारमा खटिएका छन् । त्यस्तै कृष्णनगर र शिवराज नगरपालिका, जिल्ला अस्पतालबाट पनि स्वास्थ्यकर्मीको टोली खटिएको छ । प्रकोपबाट मंगलबार बिहान दुई जनाको मृत्यु भएको थियो । सुरुमा कृष्णनगर नगरपालिका–७, ८ र ९ का बहादुरगन्ज, सुखरामपुर, देवानगढिया, जमुनी, दयानगर, विजयनगर, जुमिला र डबरागाउँका बासिन्दा बिरामी परेका थिए । पछि संक्रमण अन्य वडामा फैलिएको थियो ।

कपिलवस्तुमा फैलिएको प्रकोप हैजा भएको आशंका बढेपछि रूपन्देहीमा पनि उच्च सतर्कता अपनाइएको छ । कपिलवस्तुका गम्भीर बिरामी बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ । त्यसबाट पनि हैजाका जीवाणु फैलिन सक्ने भएकाले सतर्कता सुरु गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख डा। राजेन्द्र गिरीले बताए । ‘त्यहाँ फैलिएको प्रकोपले हामी पनि जोखिममै छौं,’ उनले भने, ‘कपिलवस्तुका बिरामीमा कलेराको लक्षण देखिएपछि सतर्कता अपनाउनु जरुरी हुन्छ ।’

इकान्तिपुरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*