दसैँपछि विश्वासको मत लिने तयारीमा प्रदेश १ का मुख्यमन्त्री आचार्य

कोल्हवी न्यूज
२०७८ आश्विन २१, बिहीबार ०७:२६ गते

एमाले विभाजनपछि प्रस्ट अल्पमतमा परेका प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका छन् । विपक्षी गठबन्धन दलहरूले नैतिकताका आधारमा राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न दबाब दिँदै आए पनि आचार्यले दसैँपछि मात्र विश्वासको मत लिने योजना बनाएका हुन् । संवैधानिक व्यवस्थाअनुसार २४ असोजभित्र मुख्यमन्त्री आचार्यले विश्वासको मत लिइसक्नुपर्नेछ ।

सकेसम्म आफ्नै नेतृत्वमा विपक्षी दलहरूसहितको सहमतिको सरकार बनाउने योजना आचार्यको छ । बुधबार नयाँ भवन उद्घाटन कार्यक्रममा उनले भने, ‘आउनोस् मिलेर सहमतिको सरकार बनाऔँ, चुनावसम्म जाऊँ । अझै धेरै लोकतन्त्रको पक्षमा सँगै संघर्ष गर्न बाँकी छ । तपाईंहरू ठन्डा दिमागले सोच्नुहोला ।’

अहिले सबै अल्पमतमै रहेको र सबैभन्दा ठूलो दल एमाले नै भएकाले सहमतिको सरकार बनाएर चुनावसम्म जानु उचित हुने उनको भनाइ थियो । सरकारले संविधान र कानुनलाई पालना गरेर प्रक्रियाअनुसार नै विश्वासको मत लिन्छ भन्दै आचार्यले भने, ‘झगडातिर नलागौँ, त्यता लाग्यौँ भने सरकारले पनि अर्कै बाटो लिनुपर्ने बाध्यता आउँछ ।’

पार्टी विभाजन भएपछि १० भदौमा हतारहतार शेरधन राईलाई राजीनामा गराएर मुख्यमन्त्री नियुक्त भएका आचार्यले ३० दिन पुगिसक्ने भएकाले २४ असोजभित्र विश्वासको मत लिइसक्नुपर्नेछ । तर, उनले चलाखीपूर्वक विशेष अधिवेशन बोलाउनुपर्नेमा माघतिर बोलाउनुपर्ने नियमित हिउँदे अधिवेशन २२ असोजमा बोलाएका छन् । २२ असोजमा निर्माण भएको नयाँ भवनमा प्रदेश सभाको नवौँ तथा हिउँदे अधिवेशन आरम्भ हुनेछ । तर, त्यस दिन दलहरूलाई शुभकामना मन्तव्य राख्न लगाएर र मुख्यमन्त्री आफैँले सभालाई सम्बोधन गरेपछि प्रदेश सभाको बैठक दसैँपछि सार्ने योजना सरकारको छ ।

प्रदेश १ मा ९२ सांसद छन् । एमालेको ४१, कांग्रेस २१, माओवादी केन्द्र १५, एकीकृत समाजवादी १०, जनता समाजवादी तीन, संघीय लोकतान्त्रिक मञ्च र राप्रपाको एक–एकजना सांसद छन् ।

विपक्षी दलका नेताहरूले आचार्यलाई भने– लाच पचाएर नहिँड्नोस्
प्रदेश १ का विपक्षी दलका नेताहरूले मुख्यमन्त्री भीम आचार्यलाई २२ असोजअगावै राजीनामा दिएर राजनीतिक इज्जत जोगाउन आग्रह गरेका छन् । मंगलबार प्रदेश सभाको नयाँ भवनको उद्घाटन कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्रीकै अगाडि सत्ता लम्ब्याउने लोभमा वर्षौंदेखिको नैतिकता र निष्ठाको राजनीतिलाई बदनाम हुन नदिन राजीनामा दिन आग्रह गरे । ‘मुख्यमन्त्रीज्यू, तपाईंले वर्षा नकटी हिउँदे अधिवेशन बोलाएर जात्रा देखाइसक्नुभयो । अब आफ्नो नैतिकता र निष्ठाको छविलाई अझै बदनाम नगराउनुहोस् ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले पनि कानुनी र भौतिक दुवैतिरबाट अल्पमतमा परिसके पनि अझै सरकारलाई केही चमत्कार हुन्छ कि भनेर दैवीशक्तिको निगाहको अपेक्षा नगर्न आग्रह गरे । उनले भने, ‘मुख्यमन्त्रीले नैतिकताका आधारमा चाँडै राजीनामा दिनुपर्छ, धमिलो पानीमा माछा मार्ने बाटोले बदनामीबाहेक केही दिँदैन ।’

एकीकृत समाजवादीका नेता राजेन्द्र राईले मुख्यमन्त्री आचार्य लाज पचाएर हिँडिरहेको आरोप लगाए । उनले दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्नेमा लिन नचाहेको आरोप लागाए । ‘सांसदको टाउको गनेर थाहा भइसक्दा पनि राजीनामा नदिनु भनेको लाज पचाउनु हो,’ राईले भने । नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*