गौर नरसंहारको छानबिन फेरि अघि बढेमा निष्पक्ष सहयोग गर्ने उपेन्द्र यादवको प्रतिबद्धता
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले १८ वर्षअघि भएको गौर नरसंहारको छानबिन फेरि अघि बढेमा निष्पक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सर्वोच्च अदालतले हालै गौर नरसंहारसम्बन्धी मुद्दाको पुनः छानबिन गर्न आदेश दिएपछि अध्यक्ष यादवले यस्तो प्रतिक्रिया दिएका हुन्। सर्वोच्चले घटनामा घाइते भएका त्रिभुवन साहद्वारा दायर गरिएको रिटमाथि सुनुवाइ गर्दै अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो।
यादवले अदालतको निर्णयप्रति सम्मान व्यक्त गर्दै, सो घटनाको अनुसन्धान तत्कालीन सरकारले पहिले नै गरीसकेको दाबी गरे। तर उनले अहिले पुनः मुद्दा अघि बढाइनु राजनीतिक प्रतिशोध हुन सक्ने आशंका पनि व्यक्त गरे। “सर्वोच्चको पूर्णपाठ नआएसम्म थप प्रतिक्रिया दिन हतार हुन्छ,” यादवले भने।
२०६३ साल चैत ७ गते रौतहटको गौरस्थित राइस मिल चौरमा मधेशी जनअधिकार फोरम र तत्कालीन नेकपा (माओवादी) कार्यकर्ताबीच भएको हिंसात्मक झडपमा २७ जना माओवादी कार्यकर्ताको ज्यान गएको थियो। यो घटनामा न्याय माग्दै त्रिभुवन साहले २०८० साल जेठ २१ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।










