‘महानायक’ विवाद टुंग्याउन राजेश हमाल र शोभित बस्नेतबीच भेट

कोल्हवी न्यूज
२०७८ आश्विन २१, बिहीबार ०७:१२ गते

निर्देशक शोभित बस्नेतले कयौं अन्तर्वार्तामा राजेश हमाललाई ‘महानायक’ नभइ ‘सुपरस्टार’ भनेका छन् । धेरै सुपरहिट फिल्म दिएकाले यो उपाधिको हकदार भुवन केसी रहेको उनको तर्क हुन्थ्यो । दुई हप्ताअघि आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’ को गीत रिलिज कार्यक्रममा पनि उनले भुवन केसीलाई ‘नेपाली फिल्म क्षेत्रको एक मात्र असली महानायक’ भनेर सम्बोधन गरे ।
नेपाली फिल्म क्षेत्रमा एक रुपैयाँ पनि लगानी नगरेको व्यक्ति (राजेश हमाल) लाई ‘महानायक’ मान्न नसकिने उनको तर्क थियो । तर, यसपटक उनलाई आफ्नै बोली भारी पर्‍यो । सामाजिक सञ्जालमा दर्शकहरु उनीमाथि गाली गलौजमा उत्रिए । दर्शकको ठूलो वर्गले फिल्म बहिस्कार गर्नेसम्मको कुरा उठायो । ‘महानायक’ विवादको असर फिल्मको ‘काट्दिम्ला जुँगा’ गीतमाथि पनि पर्‍यो ।

यो विवादले प्रदर्शनको मुखमा रहेको फिल्मलाई गम्भीर असर गर्ने बुझेपछि उनले गत आइतवार ट्रेलर रिलिज कार्यक्रममा राजेश हमालको तस्विरलाई प्रमुख अतिथी बनाएर आफ्नो बुझाइ गलत रहेको बताउँदै दर्शकसँग माफी नै माग्न भ्याए । अबदेखि राजेश हमाललाई ‘महानायक’ र भुवन केसीलाई ‘सुपरस्टार’ भन्ने उनले वाचा समेत गरे । अर्थात् उनले फिल्म जोगाउन आत्मसमर्पण गरे ।
‘महानायक’ विवादले गर्दा राजेश हमालसँग शोभितको सम्बन्ध चिसिएको थियो । यो विवादलाई टुंग्याउन पत्रकार प्रकाश सुवेदीले हमाल र शोभितबीच भेट गराउन मध्यस्थकर्ताको भूमिका खेलेका छन् । मंगलवार काठमाडौंको होटल अलफ्टमा छायांकन भएको ‘ग्ल्यामर गफ’ टेलिभिजन शोमा अतिथी भएर पुगेका राजेश हमालसँग पत्रकार सुवेदीले शोभितलाई बोलाएर भेट गराएका हुन् ।
उनीहरुबीच उक्त होटलमा करीब २ घन्टा कुराकानी भएको थियो । भेटमा भएको कुराकानीबारे शोभितले फिल्मीखबरसँग भने( ‘मैले पहिला नबुझेर वा आवेगमा आएर भनेका कति कुराहरुमा पछुतो भएर नै ट्रेलर सार्वजनिक कार्यक्रममा तपाईंको फोटोलाई प्रमुख अतिथी बनाएको थिएँ भनेर उहाँलाई जानकारी गराएँ । उहाँले पनि यो विषयमा विवाद नगरौं भनेर विनम्र आग्रह गर्नुभयो ।’
कुराकानीको क्रममा राजेश हमालले फिल्म ‘डाँडाको बर पीपल’ लाई सफलताको शुभकामना दिएको र फिल्म हेर्न हलमै आउने वाचा गरेको पनि शोभितले बताए । उनले आफ्नो करिअरमा सबैभन्दा बढी फिल्म ९१७ वटा० हमाललाई लिएर बनाएका छन् । पछिल्लो पटक उनीहरुबीच फिल्म ‘राजु राजा राम’ मा सहकार्य भएको थियो । शोभित बस्नेत एक समयका सफल निर्देशक हुन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*