सिरहाको नरहा गाउँपालिकामा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ

साङ्केतिक तस्वीर
सिरहाको नरहा गाउँपालिका–३ काे चोहर्वा–सिराहा सडक खण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ का ओमशङ्कर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डल रहेका छन् । उनीहरू एकै मोटरसाइकलमा सवार रहेका थिए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक राजेशराज पुरीको नेतृत्वमा खटिएको टोलीले शङ्का लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको हाे ।
पक्राउ परेका तीनै जनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले जानकारी दिनुभयो ।









