आफैँलाई जाँच्न फिल्म निर्देशन गर्ने सोच छ : सौगात मल्ल

कोल्हवी न्यूज
२०८२ श्रावण १८, आईतवार १७:१० गते

अभिनयमा अब्बल कोटीका कलाकार हुन्, सौगात मल्ल । जुनसुकै भूमिकामा पनि प्राण भर्न सक्ने खुबी भएका उनले फिल्ममा आउनुअघि आरोहण गुरुकुलमा २० भन्दा बढी नाटक खेलेका थिए । त्यहीँ हुँदा उनले एउटा नाटक पनि निर्देशन गरे । उनले त्यो नाटक पेटभरि मःम खान पैसा पाइने लोभमा गरेका थिए । नभए त उनलाई निर्देशन भन्ने कुरा आफूबाट असम्भव छ भन्ने लाग्थ्यो ।

हालै काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले संघर्षका दिनमा पैसा नुहँदा भेटभरि मःम खान नपाएको दिन स्मरण गर्दै भने, ‘जति बेला म थिएटर गरिरहेको थिएँ, त्यसबेला मलाई एकदमै मःम खान मन लाग्थ्यो । एक प्लेट होइन, १०/१२ प्लेट नै खान सक्छु भन्ने लाग्थ्यो । तर, त्योबेला पैसा हुँदैन थियो । त्यहीबेला सुनील सर (पोखरेल)ले एउटा नाटक निर्देशनको प्रस्ताव गर्नुभएको थियो ।’

आफूले गुरु मान्ने सुनील पोखरेलबाट निर्देशनको प्रस्ताव आउँदा पनि उनले सुरुमा स्वीकार गरेका थिएनन् । उनलाई लाग्थ्यो, ‘निर्देशन झन्झटिलो काम हो ।’ तर, सुनीलले रकम नै तोकेपछि चाहिँ सौगात लोभिए । उनले पेटभरि मःम खान जति पैसा कल्पना गरिरहेका थिए, त्योभन्दा धेरै पैसा सुनीलले दिने वाचा गरेका थिए । त्यही पैसाको लोभमा उनले पहिलो पटक नाटक निर्देशन गरे ।

उनी सम्झन्छन्, ‘सुनील सरले तिमीले निर्देशन गर्दैनौ थाहा छ तर गर्‍यो भने पैसा राम्रो दिन्छु भन्नुभयो । तर, मैले निर्देशन त चान्स नै छैन, बरु पैसा पनि चाहिन्न भनेको थिएँ । तर, सुनील सरले यति पैसा दिन्छु भनेपछि चाहिँ म चुप्प भएँ । त्यो पैसाले मैले पेटभरि खान चाहेको मःम आउँछ भन्ने भयो । अनि, एउटा नाटक चाहिँ मःम खानकै खातिर भए पनि गर्नुपर्‍यो भनेर निर्देशन गरेको थिएँ ।’

उनले १२ दिनमा तयार पारेको नाटक त्यसबेला एक प्रतियोगितामा प्रथम समेत भएको थियो । तर, त्यसपछि उनले कहिल्यै नाटक निर्देशन गरेनन् । भन्छन्, ‘त्यो नाटक तयार गर्न साह्रै गाह्रो भएको थियो । भोकनिन्द्रा सबै बर्बाद हुने रैछ । म रिसाउँदो पनि रैछु भन्ने नै नाटक निर्देशन गर्दा थाहा भएको हो । त्यतिबेला के थाहा पाएँ भने गर्न चाहिँ सकिने रैछ, तर अब गर्दिनँ भन्ने भएको थियो ।’

नाटकमा जमिरहेका बेला सौगातले ‘कागबेनी’बाट फिल्ममा डेब्यु गरेका थिए । त्यसयता ५० बढी फिल्म खेलिसकेका उनलाई फिल्म निर्देशन गर्ने सोच धेरै पटक आएको छ । तर, फेरि सोचिहाल्छन्, ‘गर्न पनि त सक्नु पर्‍यो ।’ यद्यपि, उनले फिल्म निर्देशन गर्ने कल्पना भने गरिरहेका छन् । उनले आफूले निर्देशन गर्ने फिल्म यस्तो हुन्छ भनेर स्पष्ट चित्र पनि दिमागमा बनाइसकेका छन् ।

फिल्म निर्देशनबारे सौगात भन्छन्, ‘मैले फिल्म बनाए भने यस्तो यस्तो हुन्छ भनेर कल्पना चाहिँ गरिसकेको छु । तर, त्यो कहिले पूरा हुन्छ, थाहा छैन । मैले फिल्म बनाएँ भने पनि आफ्नै पैसाले गर्छु । ताकि राम्रो लाग्यो भने निकाल्ने, लाज लाग्यो भने नदेखाउने । म आफैँलाई जाँच्नका लागि निर्देशन गर्ने सोच हो ।’ उनको नयाँ फिल्म ‘सिटामोल’ यही शुक्रबार (२३ साउन)बाट प्रदर्शन हुँदैछ ।फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*