चलचित्र जदौ को निर्माण घोषणा, मुकुन भुसाल, नीति शाह लगायत अन्य कलाकारहरुको अभिनय रहने

कोल्हवी न्यूज
२०८२ श्रावण २, शुक्रबार १६:५१ गते

फिल्म ‘जदौ’ को  निर्माण घोषणा गरिएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको घोषणा गर्दै कलाकारहरू र निर्देशनबारे औपचारिक जानकारी दिइएको हो।

अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको यो फिल्म काजी लिम्बू र अञ्जन शर्माको संयुक्त निर्देशनमा बन्नेछ।

फिल्ममा मुकुन भुसाल, नीति शाह, प्रभातपाल ठकुरी, विनोद न्यौपाने, सन्ध्या श्रेष्ठलगायत कलाकारहरूले अभिनय गर्दैछन्।

कार्यक्रममा कलाकारहरूले फिल्मको गीत समेत वाचन गरे भने प्रमुख अथितिका रूपमा उपस्थित चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको बहुचर्चित कविता ‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ वाचन गर्दै ‘जदौ’ को टाइटल अनावरण गरेका थिए।

भदौ पहिलो साताबाट छायांकन थालिने फिल्म सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण हुन लागेको हो।

कार्यक्रममा सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक विमला भण्डारीले ‘जदौ’ नेपाली समाजमा अहिले पनि व्याप्त जातीय विभेदका विविध घटनाहरूबाट प्रेरित रहेको बताउँदै यसप्रकारका भेदभाव निर्मूल गर्नका लागि फिल्मले आवाज बुलन्द गर्ने दाबी गरिन्।

निर्देशकमध्येका एक अञ्जन शर्माले समाजका यथार्थ घटना, जनजीवनलाई मनोरञ्जनात्मक रूपले पर्दामा पस्कने बताए। लेखक समेत रहेका अर्का निर्देशक काजी लिम्बूले आफूले वर्षाैदेखि देख्दै आएका जातीय विभेदकारी घटना र प्रसंगहरूलाई ‘जदौ’ मा बुन्ने प्रयास गरिएको बताए।

अभिनेता मुकुन भुसाल र विनोद न्यौपानेले आफूहरूले अहिलेसम्म गरेका भन्दा फरक पात्र र भूमिका ‘जदौ’ मा निर्वाह गर्न लागेकाले चुनौतीका साथमा सम्भावना पनि उत्तिकै रहेको बताए। अभिनेत्री नीति शाहले कथा र टिम निकै मन परेको बताउँदै यो फिल्ममा आफू आधुनिक भूमिकामा देखिन लागेको बताइन्।

अभिनेता प्रभातपालले आफूलाई विश्वास गरेर गहन भूमिका सुम्पिएकाले गम्भीरताका साथ तयारी सुरू गरेको बताए। नवअभिनेत्री सन्ध्याले डेब्यु फिल्ममै अग्रज कलाकारहरूसँग काम गर्ने मौका पाएकोमा खुसी व्यक्त गरिन्।

फिल्ममा ऋचा शर्मा, अनिल सुब्बा, सिपी पुडासैनी (धतुरे) लगायत कलाकारहरूको समेत अभिनय रहनेछ।

सह–निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा, नारायण शास्त्री, गोकुल केसी, अर्जुन खड्का, काजी केसी, सृजना शर्मा र मनिष शर्मा छन्। दाङ र प्युठानका विभिन्न स्थानमा छायांकन हुने फिल्म श्याम तामाङले खिच्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*