१८ मै बिहे गर्न पाउने कायम गर्न सांसदहरुको सुझाब

कोल्हवी न्यूज
२०७८ आश्विन १८, सोमबार २१:२१ गते

विवाह गर्ने न्यूनतम उमेरहद घटाउन सांसदहरुले सुझाब दिएका छन् । सोमबार प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समिति बैठकमा सांसदहरुले विवाह गर्ने न्यूनतम उमेर हदलाई घटाउनुपर्ने सुझाब दिएका हुन्।

मुलुकी देवानी संहिता ०७४ ले विवाह गर्न कम्तीमा २० वर्ष चाहिने व्यवस्था गरेको छ । सांसदहरुले सो व्यवस्था हटाएर उमेरलाई १८ बनाउनुपर्ने सुझाब दिएका हुन् । करणीसम्बन्धी कसूर तथा कानुनी व्यवस्थाबारे भएको छलफलका उनीहरुले ढिलो विवाह हुँदा पनि अपराधका घटना हुने गरेकाले विवाह गर्ने उमेर घटाउनुपर्ने राय व्यक्त गरेका हुन् ।

छलफलमा कांग्रेस सांसद मीन विश्वकर्मा, माओवादी केन्द्रका सांसद मातृका यादव, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णलगायतले विवाह गर्न पाउने उमेर १८ वर्ष गर्नुपर्नेमा समान धारण राखेका थिए । कांग्रेस सांसद मीन विश्वकर्माले स्वैच्छिक रुपमा यौन सम्बन्ध राख्न पाउने उमेर १८ वर्ष भएकाले विवाहका लागि २० वर्ष पुग्नैपर्ने प्रावधान राख्नु उपयुक्त नभएको बताए ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद कर्णले पनि बिहे गर्ने न्यूनतम उमेर २० वर्ष व्यावहारिक नभएकाले सच्याउनुपर्ने धारणा राखे। माओवादी केन्द्रका सांसद मातृका यादवले पनि मधेसमा आर्थिक अवस्थाका कारण छिटो विवाह हुने प्रचलनका कारण पनि २० वर्षमा बिहे गर्ने उमेर तोकिनु राम्रो नभएको बताए । समिति सभापति कृष्णभक्त पोखरेलले पनि विवाह गर्ने उमेर नेपालीको सन्दर्भमा १८ नै उपयुक्त भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*