मधेश प्रदेशका (जसपा)का तेस्रो सांसद निलम्बित
मधेश प्रदेशका जनता समाजवादी पार्टी (जसपा) का सांसद सरोजसिंह कुशवाहा घुससम्बन्धी मुद्दामा मुछिएपछि प्रदेशसभा सदस्यबाट निलम्बनमा परेका छन्। शुक्रबार प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र पढेर सिंह निलम्बनको जानकारी गराएका हुन्।
सिंहलाई अख्तियार टोलीले बिहीबार काठमाडौंको अनामनगर क्षेत्रबाट पक्राउ गरेको हो। उनी महोत्तरी क्षेत्र नम्बर ४(२) बाट प्रत्यक्ष निर्वाचित भएका थिए। अनुसन्धानका क्रममा सिंहले उपभोक्ता समितिको रकम आफ्ना निजि सचिव विनोदलाल कायस्थमार्फत आफ्नो खातामा जम्मा गराएको खुलेको आयोगले जनाएको छ।
सचिव कायस्थलाई पनि केही दिनअघि महोत्तरीबाटै पक्राउ गरिएको थियो।
यससँगै मधेश प्रदेशसभामा निलम्बनमा पर्ने सांसदको संख्या तीन पुगेको छ। यसअघि सांसद दिपेन्द्र ठाकुर र अभिराम शर्मा पनि अख्तियारको कारबाहीमा परेका थिए।
प्रदेशसभामा हाल १०७ जना सदस्य छन्, तर तीन जना निलम्बनमा परेसँगै सक्रिय सांसद संख्या घटेको छ।









