दशौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत, कोशी ६ विकेटले पराजित
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत महिला क्रिकेटमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ। वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा आज भएको खेलमा आर्मीले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कोशी प्रदेशले ६५ रन बनाउँदै सबै विकेट गुमायो। कोशीका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३६ रन बनाइन्। उनले ३६ बलमा एक छक्का र पाँच चौका प्रहार गरिन्।
कोशीलाई कम रनमा समेट्ने क्रममा आर्मीकी यमुना थारुले उत्कृष्ट बलिङ गरिन्। उनले चार ओभरमा दुई मेडन राख्दै ६ रन खर्चेर चार विकेट लिइन्। यस्तै, मनिषा उपाध्यायले दुई तथा कविता कुँवर, इश्वरी विष्ट, लक्ष्मी साउँद र सङ्गीता गुरुङले एक–एक विकेट हात पारे।
६६ रनको लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्यो। आर्मीका लागि विन्दु रावलले सर्वाधिक २१ रन बनाइन्। उनले २८ बलमा तीन चौका प्रहार गरिन्। त्यस्तै, रुवी पोद्दारले १८, कविता कुँवरले अविजित १२ र अञ्जली विश्वकर्माले सात रन जोडिन्।
कोशीका तर्फबाट कप्तान रुविना क्षेत्रीले तीन तथा एलिशा खादियाले एक विकेट लिइन्। उत्कृष्ट बलिङ प्रदर्शन गरेकी आर्मीकी यमुना थारु प्लेयर अफ दी म्याच घोषित भइन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताका अनुसार प्रतियोगिताअन्तर्गत नेपालगञ्जमा पौडी, बर्दियामा टेनिस तथा सुर्खेतमा पुरुष फुटबल, महिला बास्केटबल र महिला क्रिकेटका खेल सञ्चालन भइरहेका छन्।
दशौँ राष्ट्रिय खेलकुदका लागि मिडिया सेन्टर स्थापना
यसैबीच दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ लाई व्यवस्थित र प्रभावकारी बनाउन कर्णाली प्रदेश रङ्गशाला परिसरमा मिडिया सेन्टर स्थापना गरिएको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलले उक्त मिडिया सेन्टरको उद्घाटन गर्नुभयो। उहाँले प्रतियोगिताका ३२ विधाका खेलसम्बन्धी समाचारलाई अडियो, भिडियो, अनलाइन तथा छापा सञ्चारमाध्यममार्फत एकद्वार प्रणालीबाट विश्वसनीय, तथ्यपरक र पारदर्शी रूपमा सम्प्रेषण गर्ने उद्देश्यले सेन्टर स्थापना गरिएको बताउनुभयो।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहताले संघ र प्रदेशमा आबद्ध सञ्चारकर्मीलाई समाचार सम्प्रेषणमा एकरूपता कायम गर्न आग्रह गर्नुभयो। उहाँले आजदेखि कर्णाली प्रदेश रङ्गशालामा विभिन्न खेल औपचारिक रूपमा सञ्चालनमा आएको जानकारीसमेत दिनुभयो।









