पिप्ले चोकस्थित होटलमा मध्यराति आगलागी, दुई जना सामान्य घाइते

कोल्हवी न्यूज
२०८३ मंसिर १०, बुधबार ०७:५५ गते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको द डोर होटलमा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

मंसिर ८ गते राति करिब ११ः३० बजे होटलमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। स्थानीयवासी, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट होटलको भान्साकोठा (किचन) र हलमा रहेका सम्पूर्ण सामान जलेर पूर्ण रूपमा नष्ट भएका छन्। आगो मंसिर ९ गते राति १२ः२० बजे नियन्त्रणमा आएको थियो।

आगो निभाउने क्रममा होटल सञ्चालक करिब २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी करिब ३५ वर्षीय नवीन नेपालको हात सामान्य पोलिएको छ। दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको प्रहरीले जनाएको छ।

आगलागीको यकिन कारण खुल्न नसकेको भए पनि विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ। घटनामा अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।

होटल सञ्चालकका अनुसार आगलागीबाट कोठासहित करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*