महिला तथा बालिकामाथिको हिंसा अन्त्य गर्न विश्व समुदायलाई राष्ट्रसङ्घको आग्रह
आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ।
महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ। संयुक्त राष्ट्रसङ्घले महिला हिंसालाई मानव अधिकारको गम्भीर उल्लङ्घनका रूपमा व्याख्या गर्दै यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसङ्घीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो। यो तथ्याङ्कअनुसार प्रत्येक दिन औसत १३७ महिला तथा बालिकाको हत्या हुने गरेको छ। अर्थात् प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाले ज्यान गुमाउने गरेका छन्।
प्रतिवेदनले महिला तथा बालिकामाथि हुने हिंसा लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको औँल्याएको छ।
महिला हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ। संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो। त्यस्तै, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो।
महिला अधिकारकर्मीहरूले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन्। सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिवस मनाउन थालिएको हो।
यस दिवससँगै आजदेखि डिसेम्बर १० अर्थात् अन्तर्राष्ट्रिय मानव अधिकार दिवससम्म विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन हुँदैछ। यस अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयास तीव्र बनाउन आह्वान गरेका छन्।
उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श तथा सुरक्षित आश्रयको व्यवस्था गर्न र हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह गरेका छन्।
त्यस्तै, संयुक्त राष्ट्रसङ्घकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जवाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन्।









