भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
नुवाकोट । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ। संघीय सरकारले बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न सहयोग गर्ने घोषणा गरेअनुसार नगरपालिकाले लाभग्राहीको बैंक खातामा रकम पठाउन थालेको हो।
विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठका अनुसार हालसम्म ९७० परिवारको बैंक खातामा घरभाडाबापतको रकम पठाउन सुरु गरिएको छ। बाढीबाट प्रभावित भई लाभग्राही कायम भएका तथा घरभाडामा बस्दै आएका परिवारलाई प्राथमिकताका साथ रकम उपलब्ध गराउन थालिएको उनले बताए।
नगरप्रमुख श्रेष्ठले वडा नम्बर १० वेत्रावतीसहित आसपासका प्रभावित क्षेत्रमा रकम वितरण सुरु गरिएको र अहिले सबै प्रभावित वडामा प्रक्रिया अघि बढाइएको जानकारी दिए। लाभग्राहीको विवरण अद्यावधिक गर्ने काम जारी रहेकाले कायम भएका सबै परिवारलाई जतिसक्दो छिटो रकम उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ छ।
विदुर नगर कार्यपालिकाको गत भदौ २० गते बसेको १३४औँ बैठकले बाढी प्रभावित परिवारलाई आश्रयस्थल छाडेर घरभाडामा बस्न चाहेमा मासिक १० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो। त्यसपछि संघीय सरकारले पनि बाढी प्रभावित परिवारलाई सुरक्षित स्थानमा घरभाडामा बस्न आग्रह गर्दै छ महिनासम्म घरभाडा खर्च उपलब्ध गराउने घोषणा गरेको थियो।
सोही घोषणाअनुसार दोहोरो भुक्तानी नहुने गरी नगरपालिकाले घरभाडाबापतको रकम वितरण प्रक्रिया अघि बढाएको हो।
नगर उपप्रमुख प्रभा बोगटीका अनुसार विदुर नगरपालिकामा बाढी प्रभावित १ हजार ७८६ परिवार लाभग्राही कायम भएका छन्। लाभग्राही पहिचानका लागि आवश्यक विवरण संकलन तथा प्रमाणीकरणमा समय लागेकाले रकम वितरणमा ढिलाइ भएको उनले बताइन्। केही परिवार छुटेको गुनासो आइरहेकाले लाभग्राहीको सङ्ख्या थपघट हुन सक्ने उनको भनाइ छ।
सरकारको व्यवस्थाअनुसार चार जनासम्म सदस्य भएको परिवारलाई प्रतिमहिना १५ हजार रुपैयाँ घरभाडा उपलब्ध गराइनेछ। चार जनाभन्दा बढी सदस्य भएको परिवारमा प्रत्येक थप सदस्यका लागि प्रतिमहिना दुई हजार रुपैयाँका दरले थप रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ। यस्तो सहयोग कम्तीमा छ महिनासम्म उपलब्ध गराउने सरकारको घोषणा छ।
यसअघि नगरपालिकाले सामाजिक सङ्घसंस्थासँगको सहकार्यमा बाढी प्रभावित परिवारलाई घरभाडामा बस्दा आवश्यक पर्ने लत्ताकपडा, भाँडाकुँडा, सरसफाइ सामग्रीलगायत बन्दोबस्तीका सामग्री राहतस्वरूप उपलब्ध गराउँदै आएको थियो।
यस्तै, बाढी प्रभावित नुवाकोटकै बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा पनि घरभाडाबापतको रकम वितरणका लागि लाभग्राही पहिचानको काम अन्तिम चरणमा पुगेको छ। ती स्थानीय तहले लाभग्राही यकिन भएपछि रकम वितरण सुरु गर्ने जनाएका छन्।









