नेपाल प्रहरीमा एकैपटक ६० एसपीको सरुवा
काठमाडौं । नेपाल प्रहरीले ६० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले मंगलबार साँझ ६० जना एसपीको सरुवा सूची सार्वजनिक गरेको हो। लामो समयदेखि रोकिएको एसपी सरुवा प्रक्रिया अघि बढाउँदै प्रहरीले एकैपटक ठूलो सङ्ख्यामा अधिकृतहरूको सरुवा गरेको हो।
सरुवा सूचीमा केही अधिकृतको यसअघि नै काज सरुवा भइसकेको भए पनि अहिले औपचारिक रूपमा सरुवा सूची प्रकाशन गरिएको हो।
सरुवा गर्नुअघि प्रहरी प्रधान कार्यालयले एसपीहरूको पूर्वानुमानयोग्य सरुवा सूचीसमेत सार्वजनिक गरेको थियो। विभागले ‘क’ श्रेणी र ‘ख’ श्रेणीमा खटाउन सकिने एसपीहरूको छुट्टाछुट्टै नामावली प्रकाशन गरेको थियो।
नेपाल प्रहरीमा यसअघि यस प्रकारको पूर्वानुमानयोग्य सरुवा सूची सार्वजनिक गर्ने अभ्यास थिएन।









