रौतहटको कटहरियामा आठ दिनदेखि खानेपानी ठप्प, १६ सय परिवार प्रभावित
रौतहट । रौतहटको कटहरिया नगरपालिकामा खानेपानीको विद्युत् लाइन काटिएपछि करिब १ हजार ६ सय परिवार खानेपानीको समस्यामा परेका छन्। आठ दिनदेखि धारामा पानी आउन छाडेपछि स्थानीयवासी ट्युबेल र बोतलको पानीको भरमा दैनिक गुजारा गर्न बाध्य भएका छन्।
खानेपानी आपूर्ति बन्द हुँदा कटहरिया नगरपालिका–४ र ५ का स्थानीयको जनजीवन प्रभावित बनेको छ। कतिपय परिवार ट्युबेलको पानी प्रयोग गरिरहेका छन् भने पिउने पानीका लागि धेरैले बोतलको पानी खरिद गर्नुपरेको छ। यसले सर्वसाधारणको दैनिक खर्चसमेत बढाएको छ।
स्थानीय शिक्षक अजय कुशवाहाका अनुसार ट्युबेलको पानी पिउन सहज नलाग्ने भएकाले धेरै परिवारले बोतलको पानी किनेर उपभोग गर्नुपरेको छ।
खानेपानी उपभोक्ता समितिले विद्युत् महसुल भुक्तानी नगरेपछि नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले वडा नम्बर ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत् मिटर निकालेर लगेको हो।
प्राधिकरण मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार उपभोक्ता समितिको नाममा १० लाख ४२ हजार ५०६ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ। पटक–पटक ताकेता गर्दा पनि रकम भुक्तानी नभएपछि विद्युत् सेवा बन्द गरिएको उनले बताएका छन्।
यसैबीच, खानेपानीको महसुल तिर्न नसक्दा १६ सय परिवार प्रभावित भइरहेका बेला नगरपालिकाले करिब २४ लाख रुपैयाँ खर्च गरेर क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको भन्दै आलोचना भएको छ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले जनताको आधारभूत आवश्यकता पूरा गर्न नसक्ने नगरपालिकाले क्रिकेट प्रतियोगितामा लाखौँ रुपैयाँ खर्च गर्न खोज्नु गलत प्राथमिकता भएको आरोप लगाएका छन्।
त्यस्तै, वडा नम्बर ४ का अध्यक्ष चन्दन कुशवाहाले पनि नगरप्रमुख अजय प्रकाश जैसवालको लापरवाहीका कारण स्थानीयले खानेपानीको समस्या भोग्नुपरेको आरोप लगाएका छन्।
नगरप्रमुख जैसवालले भने प्रमुख प्रशासकीय अधिकृतको पटक–पटक सरुवा भएका कारण विद्युत् महसुल भुक्तानी गर्न नसकिएको बताएका छन्।
आठ दिनदेखि खानेपानी सेवा अवरुद्ध हुँदा स्थानीयवासीले तत्काल विद्युत् महसुल भुक्तानी गरी पानी आपूर्ति नियमित गर्न नगरपालिकासँग माग गरेका छन्।
खानेपानीजस्तो आधारभूत सेवामा देखिएको समस्या समाधान गर्न नगरपालिकाले तत्काल पहल गर्नुपर्ने स्थानीयको माग छ।









