श्रीमतीकै योजनामा हत्या, मुख्य अभियुक्त नै जंगलमा मृत भेटिए

कोल्हवी न्यूज
२०७८ आश्विन १४, बिहीबार ०९:२६

ललितपुरका राजकुमार भुलुनको हत्याका अभियुक्त भनिएका व्यक्ति मृत फेला परेका छन्। सोमबार राति ललितपुरको गोदावरी नगरपालिका ७ स्थित मच्छिन्द्र सामुदायिक वनभित्र राजकुमारको हत्या भएको थियो। हत्याका मुख्य अभियुक्त भनिएका मनोज सार्की बुधबार घटनास्थलनजिकै मृत भेटिएका हुन्। उनी छाँगाबाट खसेको अवस्थामा मृत फेला परेको ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्रचार्यले जानकारी दिइन्।

मनोजले धारिलो हतियार प्रहार गरी सोमबार राति राजकुमारको हत्या गरेको राजकुमारका आफन्तले बताएका छन्। राजकुमारको हत्या उनकै श्रीमती रोजिना भुलुन, साली सुनीता स्याङतान, साढुभाइ ज्ञानकुमार स्याङतान र लक्ष्मी भुलुनको योजनामा भएको प्रहरीको दाबी छ। उनीहरु चारै जनालाई चापागाउँ प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।

पति–पत्नी झगडाका कारण राजकुमारको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसधानबाट खुलेको छ। रोजिनाले श्रीमानको हत्या गर्नका लागि बहिनी र लक्ष्मीसँग सल्लाह गरेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार लक्ष्मीले मनोजलाई रकम दिएर राजकुमारको हत्या गर्न लगाएको पाइएको छ।

मनोज र लक्ष्मी एउटै गार्मेन्टमा काम गर्छन्। मनोजकी श्रीमतीले पनि लक्ष्मीले बोलाएर उनी त्यहाँ गएको प्रहरीलाई बताएकी छन्। राजकुमारको हत्या गरेर अँध्यारोमा भाग्ने क्रममा मनोज भीरबाट झरेको हुनसक्ने प्रहरीको अनुमान छ। मनोजको मोबाइल उनकै प्यान्टको गोजीमा फेला परेको छ। घटनापछि मनोजको कसैसँग पनि मोबाइलमा सम्पर्क भएको पाइएको छैन। यसअघि डग स्निफिङमा समेत मनोज त्यही क्षेत्रमा भएको हुनसक्ने संकेत देखिएको थियो।

त्यसैले प्रहरीले दुई दिनदेखि त्यही आसपास खोजिरहेको थियो। अपराध महाशाखा र चापागाउँ वृत्तको टोलीले डग स्निफिङका क्रममा पाएको संकेतका आधारमा खोजी गर्दा मनोजको शव फेला परेको हो।

‘पक्राउ परेका व्यक्तिले मनोजले हत्या गरेको बताएका थिए। तर, घटनापछि कहाँ गए भन्ने कुरा थाहा थिएन। लक्ष्मीले पनि त्यसपछि केही थाहा नभएको बताएकी थिइन्,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने, ‘उनले हत्या गरेवापत पाउनु पर्ने रकम पनि लिएका रहेनछन्। घटनास्थलभन्दा तीन सय मिटर तल मनोजको शव फेला परेको छ। टाउकोमा चोट लागेको छ।’

शवको अवस्था हेर्दा त्यही दिन मृत्यु भएको प्रहरीको अनुमान छ। ‘हामीले अरु प्रमाण केही भेटिन्छ कि भनेर पनि खोजिरहेका थियौँ। अभियुक्त पनि फेला परेका थिएनन्। मोबाइल पनि त्यही राति १२ बजेतिरबाट स्विच अफ भएको थियो,’ प्रहरीले श्रोतले भन्यो। मनोजको आफन्तसँग पनि कुरा हुन नसकेको पाइएपछि उनी पनि सकुशल नरहेको प्रहरीको अनुमान थियो। घटना राति साढे ९ बजेतिर भएको थियो। राजकुमार साढुभाइ ज्ञानकुमारकै घरमा बस्थे। राति पसल गएर फर्किने क्रममा उनको हत्या भएको थियो।

मनोजको शव पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। घटनाको थप अनुसन्धान भइरहेको अपराध महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले नेपालखबरलाई बताए। नेपालखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*