मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुअगावै राजीनामा दिनुपर्ने विपक्षी दलको माग
प्रदेश १ सभाका विपक्षी दलका नेताहरूले मुख्यमन्त्री भीम आचार्यले संसद्बाट विश्वासको मत लिनुअगावै राजीनामा दिनुपर्ने माग अघि सारेका छन् । यसअघि मुख्यमन्त्री आचार्यविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिएका उनीहरूले संवैधानिक र कानुनी आधार नभेटेपछि मुख्यमन्त्रीले ‘तत्काल राजीनामा’ दिनुपर्ने माग गर्न थालेका हुन् । विपक्षी दलका नेताहरूले बुधबार साझँ प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई भेटेर मुख्यमन्त्री आचार्यलाई छिटो राजीनामा गर्नका लागि भूमिका खेलिदिन आग्रह समेत गरेका छन् ।
बुधबार प्रदेश प्रमुख ‘प्यासी’सँग भेट्नु अघि उनीहरूले संसद सचिवालयमा गठबन्धनको आगामी रणनीतिबारे छलफलसमेत गरेका छन् । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला, नेकपा ९एकीकृत समाजवादी० दलका नेता राजेन्द्र राई, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बो, जनता समाजवादीका नेता जयराम यादव र लिम्बुवान मोर्चाकी बिष्णुकुमारी तुम्बाहाम्फेबीच भएको छलफलमा संसद अधिवेशनअगावै मुख्यमन्त्रीको राजीनामाका लागि दबाब सिर्जना गर्ने र सकेसम्म छिटो नयाँ सरकार गठन गर्ने बिषयमा छलफल भएको जनाइएको छ ।
उक्त छलफलमा आफूहरूसँग स्पष्ट बहुमत भएका कारण मुख्यमन्त्रीको छिटो राजीनामा माग्ने सहमति भएको र सोही अनुसार प्रदेश प्रमुख समक्ष आग्रह गरिएको कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले जानकारी दिए । कोइरालाले वर्तमान सरकारलाई बहुमतको सरकार भनिए पनि एमालेका १० जना सांसदहरूले समाजवादी दल रोजेकोले आचार्य नेतृत्वको सरकारले बहुमत गुमाइसकेकोले अब प्रदेश प्रमुखबाट निर्वाह हुने भूमिकाबारे कुराकानी भएको बताए ।
‘सरकार बहुमतप्राप्त भनेको छ, सांसदहरूले एमाले छोड्यौं भनेर समाजवादीमा गएका छन्, यस्तो अवस्थामा प्रदेश प्रमुख तपाँईको भूमिका के हो भनेर प्रदेश प्रमुखलाई हामीले सोधेका हौं’ कोइरालाले भने, ‘उहाँले आफू लोकतन्त्रको लागि लडेको मान्छे भएकोले संविधान कानुनविपरीतका काम हुन नदिने भनेर जवाफ दिनुभयो ।’
आचार्य नेतृत्वको सरकारको विकल्पमा बहुमतको सरकार बनाउने दाबी गर्दै आएको गठबन्धनले पटक–पटक अविश्वासको प्रस्ताव ल्याउने चेतावनी दिइसकेका थिए । तर संविधानको धारा १८८ को उपधारा ९४० मा मुख्यमन्त्री नियुक्त भएको पहिलो दुई वर्षभित्र अविश्वासको प्रस्ताव पेश गर्न नसकिने भनि स्पष्ट व्यवस्था गरेका कारण उनीहरू अविश्वास प्रस्तावबाट पछि हटेका हुन् ।
सरकारले नियमित संसद् अधिवेशन यही असोज २२ गते शुक्रबार दिनको २ बजेका लागि बोलाउने निर्णय गरे अनुसार प्रदेश प्रमुखबाट प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान भइसकेको छ । उक्त अधिवेशनमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका छन् । तर विपक्षी दलका नेताहरूले भने आफूहरू बहुमत भइसकेकोले संसद् अधिवेशनअगावै मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने पर्ने माग गरेका हुन् ।
प्रदेश १ मा भदौ १० बिहीबार भीम आचार्य मुख्यमन्त्री बनेका हुन् । हाल नेकपा ९एस० दलमा रहेका १० जना सांसदहरूले त्यतिबेला नेकपा एमालेमै रहेको भन्दै उनी संसद्मा बहुमत भएको दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेका थिए । पार्टी फुटेपछि ४१ जना सांसदमा एमाले सीमित भएको छ ।
९२ सदस्यीय प्रदेशसभाबाट विश्वासको मत लिन मुख्यमन्त्री आचार्यले ४७ सांसदको समर्थन जुटाउनु पर्नेछ, जुन तत्कालका लागि निकै कठिन देखिएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा ९एस०, जनता समाजवादी, लिम्बुवान मोर्चासहितको विपक्षी गठबन्धनले भने आचार्यले विश्वास मत नपाउने र अर्को सरकार आफ्नो नेतृत्वको बन्ने बताउँदै आएको छ । पाँच दलीय विपक्षी गठबन्धनले आफूहरूसँग ५० सांसद रहेको दाबी गरेको छ । ईकागजबाट









