वाग्मती प्रदेशमा सत्ताको खेल दुःखद : शेखर कोइराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका महाधिवेशनलाई प्रभावित पार्न वाग्मती प्रदेशमा सत्ताको खेल हुनु दुःखद भएको बताएका छन् ।
वाग्मती प्रदेश सरकारमा प्रधानमन्त्री शेरबहादुर देउवाले अढाइ महिना मुख्यमन्त्री मागेको कुराप्रति आफ्नो गम्भीर आपत्ति रहेको उनले बताए ।
सामाजिक सञ्जाल फेसवुकमा लेख्दै नेता कोइरालाले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक भएको भन्दै अस्वीकार्य रहेको बताए ।
पार्टीको यस्तो हर्कतले संघीयता धरापमा पर्ने र लोकतन्त्रको धज्जी उड्ने कोइरालाको विश्लेषण छ ।
यसअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाग्मती प्रदेशमा अढाइ महिनाका लागि भए पनि मुख्यमन्त्रीमा आफू निकट इन्द्र बानियाँलाई बनाउन लविङ गरिरहेको समाचार बाहिरिएको थियो ।
देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग सो विषयमा छलफल गरेका थिए । वाग्मती प्रदेशमा एमालेकी अष्टलक्ष्मी शाक्य मुुख्यमन्त्री छन् । शाक्यको सरकार अल्पमतमा छ । उनले दसैँअघि विश्वासको मत लिने तयारी गरिरहेकी छिन् । बाह्रखरीबाट










