मकवानपुर प्रहरीले ठुलो परिमाणमा गाँजा सहित एक युवक पक्राउ
मकवानपुर प्रहरीले ठुलो परिमाणमा गाँजा लुकाएर ओसारपसार गर्दै गरेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोलखा जिरी नगरपालिका–१ निवासी ३२ वर्षीय अम्मरबहादुर तामाङ छन्।
हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोस्टमा चेकजाँचको क्रममा प्रहरीले बारा जिल्लाको कलैयातर्फ गइरहेको बा प्र ०१–०३०च १०४६ नम्बरको पिकअप गाडी रोकेर तलासी गर्दा ९ वटा प्लास्टिकका पोका भित्र लुकाइछिपाई राखिएको करिब १०५ केजी ९ सय ग्राम गाँजा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।
गाँजा गाडीको भित्री भागमा विशेष तरिकाले छोपेर राखिएको थियो भने गाडीमा चालक तामाङबाहेक अरू कोही पनि सवार थिएनन्।
प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर गाँजासहितको पिकअप समेत बरामद गरेको छ। पक्राउ परेका चालकविरुद्ध लागूऔषध नियन्त्रण ऐनअनुसार मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।










