प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ।
साईकल खरिद प्रक्रियामा अनियमितता भएको र साईकल पनि गुणस्तर नभएको उजुरी परेपछि आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले बुधबार दिउँसो जनकपुरस्थित प्रदेश–२ को मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा छापा मारेको हो। टोलीले सो सम्बन्धि कागजातसहितको प्रमाण मुख्यमन्त्री कार्यालयबाट लिएर छानवीनको कामलाई पनि सुरु गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए। उनले साईकल खरिद र त्यसको गुणस्तरका सम्बन्धमा परेको उजुरीलाई आधार मानेर मुख्यमन्त्री कार्यालयबाट सम्बन्धित कागजातसहितको प्रमाण लिएर छानवीनको काम सुरु गरिएको पनि स्पष्ट पारे।
आयोगले प्रदेश २ को सरकारले छोरीहरुलाई विद्यालय पढाउने कार्यलाई प्रेरित गर्न ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम संचालन गरेको छ। सो कार्यक्रम अन्तर्गत बालिकाहरुलाई साईकल वितरण गरिन्छ। उक्त साईकल खरिद र वितरणमा अनियमितता भएको उजुरी आयोगमा परेको थियो।
यसैबीच, प्रदेशको सर्वोच्च निकायमा अख्तियार सिधै छापा हानेर बद्नाम गर्न खोजेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले असन्तुष्टि ब्यक्त गरेका छन्। बिना प्रमाण समाचार छापिने, त्यसको केहि समयमै अख्तियार आएर छापा हान्ने, यो सबै बद्नाम गर्ने खेल हो उनले सञ्चारकमीसँग कुरा गर्दै भने। अख्तिारले अधिकार क्षेत्रभन्दा बाहिर गएर काम गरेको उनको आरोप छ। नेपालसमयबाट










