बाराबाट २० वर्षीया विवाहित युवतीलाई भारत वेश्यालयमा लैजाँदै गरेका एक युवक पक्राउ

कोल्हवी न्यूज
२०८२ बैशाख ३१, बुधबार १७:४७ गते

बाराबाट एक २० वर्षीया विवाहित युवतीलाई भारतको दिल्लीस्थित वेश्यालयमा लैजाँदै गरेका एक युवक पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सिम्रौनगढ नगरपालिका–१०, देवापुर टेन्टाका २४ वर्षीय सुरज गुप्ता हुन्।

प्रारम्भिक अनुसन्धान अनुसार गुप्ताले ती युवतीलाई आफ्नी सानी आमाले सञ्चालन गर्दै आएको दिल्लीस्थित यौन व्यवसायमा संलग्न गराउने उद्देश्यले भारत लैजाँदै गरेको खुलेको छ।

गुप्तालाई भारतको बिहार राज्यअन्तर्गत मोतीहारी जिल्लाको जमुनियाबाट भारतीय शसस्त्र सिमा बल (एसएसबी) को टोलीले मंगलबार राति नियन्त्रणमा लिएको थियो। रौतहटसँग जोडिएको सीमाबाट लैजाँदै गर्दा शंका लागेपछि एसएसबीले सोधपुछ गर्दा उनले फरक–फरक बयान दिएका थिए। कडाईका साथ सोधपुछपछि उनले युवतीलाई वेश्यालयमा लैजान लागेको स्वीकार गरेका थिए।

पक्राउ परेपछि भारतीय एसएसबीले उनलाई रौतहट प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय बारालाई बुझाएको छ। बाराका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार, अभियुक्त गुप्ताको स्थायी बसोबास बारा जिल्लामा परेकाले थप अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जिम्मा दिइएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ। यो घटनाले महिला तथा बालिका तस्करीको समस्या अझै गम्भीर रहेको संकेत गरेको प्रहरीको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*