म्युजिक भिडियो विवादमा ‘दारी बा : मागे माफी
कलाकार सुरविर पण्डित ‘दारी बा’ले आफू अभिनित पछिल्लो म्युजिक भिडियोलाई लिएर आलोचित भएपछि दर्शकसामु माफी मागेका छन् । ‘मेरी बास्सै’को टिकटक एकाउन्टमार्फत उनले भिडियो सन्देश जारी गर्दै माफी मागेका हुन् ।
उनले अभिनय गरेको इसाई धर्मसँग सम्बन्धित एक भिडियो हालै रिलिज भएको थियो । इसाई धर्म प्रचार गर्ने उद्देश्यले बनाइएको भिडियोमा अभिनय गरेको भन्दै सुरविर र अर्का कलाकार रामचन्द्र अधिकारी ‘काजी बा’को आलोचना भैरहेको छ ।
सुरविरले भिडियोमा रामचन्द्रको तर्फबाट पनि दर्शकसँग माफी मागेका छन् । सुरविरले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै क्षमायाचना गरेका हुन् । उनले केही दिनअघि दुई इसाई धर्मबारेको गीतमा अभिनय गरेको स्वीकारेका छन् ।
कलाकार भएपछि जे कुरा आएपनि अभिनय गर्नुपर्छ भन्ने कुरा अग्रजबाट सिकेको भन्दै उनले अभिनय गरेको बताएका छन् । ‘हाम्रो उद्देश्य कसैको मन दुखाउनु पटक्कै थिएन, सिर्फ कलाकारिता गर्ने मात्रै थियो । म एकदमै हृदयदेखि क्षमा चाहन्छु’ उनले भने । आउँदा दिनमा धर्म, संस्कार, संस्कृति र राष्ट्रले गर्व गर्ने किसिमका काम गर्ने उनको प्रतिबद्धता छ ।










