जीतपुरसिमरामा जेठ १ देखि व्यापारिक तथा सांस्कृतिक महोत्सव सुरु हुने, नेपाल र भारतका चर्चित कलाकारहरूको प्रस्तुति रहने

कोल्हवी न्यूज
२०८२ बैशाख २३, मंगलवार १६:५७ गते

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ अन्तर्गत शान्ति टोलस्थित खेल मैदानमा आगामी जेठ १ गतेदेखि व्यापारिक तथा सांस्कृतिक महोत्सव २०८२ सुरु हुने भएको छ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे औपचारिक जानकारी गराइएको हो।

महोत्सवको आयोजना द लिड इन्टरटेन्मेन्टले गर्दैछ भने वडा कार्यालयले सहकार्यकारी भूमिका रहने वडा अध्यक्ष सुनिल गुप्ताले जानकारी दिए। उनका अनुसार महोत्सवका लागि बैशाख २५ गतेदेखि जेठ २५ गतेसम्म सञ्चालनको अनुमति लिइए पनि औपचारिक सुरुवात भने जेठ १ गतेबाट गरिनेछ।

वडा अध्यक्ष गुप्ताले जीतपुरसिमरा उपमहानगरपालिकाको केन्द्र भएर पनि महोत्सवहरू अन्य क्षेत्रमा केन्द्रित हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै, “जीतपुर व्यवसायका लागि सुरक्षित क्षेत्र हो। यही सन्देश दिन महोत्सवमार्फत हामी सक्रिय भएका हौँ,” भने।

सांस्कृतिक तड्का र मनोरञ्जनको समावेश

महोत्सवमा भारतीय भोजपुरी सुपरस्टार खेसारीलाल यादव सहित नेपाल तथा भारतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजक संस्था द लिड इन्टरटेन्मेन्टका सञ्चालक बिमल खड्गीले जानकारी दिए।

परिवारका सबै सदस्यका लागि रमाइलो हुने गरी बाल उद्यान, रोटेपिङ, सर्कस, तथा विभिन्न किसिमका व्यापारिक स्टलहरू पनि महोत्सवमा राखिनेछ।

खड्गीका अनुसार हावाहुरी र वर्षाको सम्भावित जोखिमलाई ध्यानमा राख्दै महोत्सवका लागि लामो समयको अनुमति लिइएको भए पनि आवश्यकतानुसार अवधि छोट्याउने विकल्प खुला राखिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*