टेकुमै तीन सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाइने

कोल्हवी न्यूज
२०७८ आश्विन ७, बिहीबार ०७:१४ गते

सरकारले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा तीन सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने भएको छ । महामारीजन्य रोगको प्रकोप फैलिँदै गएको र हाल अस्पताल भएको स्थान साँघुरो भएपछि अघिल्लो सरकारले फराकिलो ठाउँमा जग्गा खोजेर तीन सय शय्याको केन्द्रीय सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो ।

नापी विभागबाट प्राप्त नक्सामा टेकु अस्पतालको जग्गाभित्र स्वास्थ्य सेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला बसेको पाइएपछि सोही ठाउँको व्यवस्थापन गरी सरुवा रोग अस्पताल बनाउने प्रक्रिया अगाडि बढेको हो । अघिल्लो सरकारले अस्पताल बनाउन उपत्यकाभित्र विभिन्न ठाउँमा जग्गा खोजी गरेको थियो । अस्पतालका लागि नागढुंगास्थित कुष्ठरोग पुनस्र्थापना केन्द्र आसपास, दक्षिणकाली स्वाथ्य केन्द्र नजिक र चोभारमा जग्गा हेरिएको थियो । तर, टेकु अस्पतालको आफ्नै जग्गा प्रशस्त भएपछि सोही ठाउँमा नयाँ भवन बनाउन लागिएको हो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शुक्रराज अस्पतालकै जग्गामा तीन सय शय्याको सरुवा रोग अस्पताल बनाउने जानकारी दिए ।

सरकारले ०७७र७८ को वार्षिक कार्यक्रममार्फत तीन सय शय्याको सुविधासम्पन्न सरुवा रोग अस्पताल बनाउने निर्णय गरेको थियो । तर, जग्गा खोजीमै एक वर्ष बित्यो । स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले परिसरको स्थलगत अध्ययन गरेर अस्पताल विस्तार गर्न पर्याप्त जग्गा रहेको निष्कर्ष निकालेपछि सरुवा रोग अस्पताल विस्तार तथा निर्माण गर्ने रोडम्याप तयार भएको छ ।

अस्पतालका सूचना अधिकारी नवराज गौतमले पनि तीन सय शय्याको सरुवा रोग अस्पताल टेकु परिसरमै बनाउन लागेको बताए । उनका अनुसार टेकुको जग्गामा हेल्थ प्लाजा, एनपिएचएल र शुक्रराज अस्पताल बनाइनेछ । आठवर्षे योजना बनाएर तीन फेजमा काम सक्ने योजनासहित अहिले काम अगाडि बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्राप्त विवरणअनुसार शुक्रराज अस्पतालको नाममा ७० रोपनी एक आना जग्गा देखिएको छ । तर, १६ रोपनी दुई आनामा मात्र अहिलेको अस्पताल सञ्चालनमा रहेको देखिन्छ । स्वास्थ्य मन्त्रालयले तयार पारेको स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका, २०७० अनुसार तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कम्तीमा पनि ३२ दशमलव ४८ रोपनी जग्गा आवश्यक पर्छ ।

स्वास्थ्य भवन पूर्वाधारको डिजाइन तथा निर्माणसम्बन्धी निर्देशिका २०७३ को विशेष व्यवस्थाअनुसार निर्माणस्थल बस्तीको मध्य भागमा वा बजार केन्द्रमा अवस्थित रही बाटोसमेतमा जोडिएको भए तोकिएको न्यूनतम क्षेत्रफलमा सोको २० प्रतिशतसम्म कम भए पनि उक्त जग्गालाई नै छनोटका लागि प्राथमिकता दिन सकिने प्रावधान छ । त्यसैले सरुवा रोग अस्पताल बनाउन २६ रोपनी जग्गा भए पुग्ने देखिएको छ । तर, ७० रोपनीभन्दा बढी शुक्रराज अस्पतालको नाममा जग्गा भएकाले तीन सय शय्याको अस्पताल बनाउन प्रशस्त रहेको निष्कर्ष स्वास्थ्य मन्त्रालयले निकालेको हो ।

हाल सञ्चालनमा रहेको जग्गामा थप १० रोपनी जग्गा उत्तर दिशामा सञ्चालित आर्थिक प्रशासन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका भवनहरू रहेको र स्वास्थ्य सेवा विभागको प्रस्तावित हेल्थ प्लाजा भवन निर्माण भएपछि पश्चिम दिशामा सञ्चालित स्वास्थ्य सेवा विभागको महानिर्देशकको कार्यालय रहेको भवन प्रयोग गरी पु¥याउन सकिने देखिएको प्रतिवेदनमा उल्लेख छ । नयाँपत्रिकाडेलीबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*