फेवातालमा तराईका माछा, किसान मारमा

कोल्हवी न्यूज
२०७८ आश्विन ७, बिहीबार ०७:१२ गते

पोखरा सात तालको शहर हो । पोखराका फेवाताल, बेगनासताल र रूपाताल चर्चित ताल मात्रै नभई माछा उत्पादन क्षेत्रसमेत हुन् । पोखराको तालमा घुम्न आउने पर्यटकहरूले यहाँको लोकल माछा मन पराउने मात्र होइन, यहाँको लोकल माछा खानैकै लागि पनि पर्यटक आउने गरेका छन् ।

तर, अहिले फेवातालका माछा किसान अन्यायमा परेका छन् । एकातिर लगातारको वर्षापछि तालको पानी बारम्बार धमिलिँदा जालमा माछा कममात्र पर्ने गरेको छ भने अर्कातिर तराईको सस्तो माछालाई लोकल माछा भनेर बेच्न थालेपछि उपभोक्ताले समेत माछा किन्न छाडेका छन् ।

फेवातालमा माछा मारेर नै करिब ८ सय बढी परिवारको दैनिक गुजारा चलिरहेको छ । तर, फेवाताल क्षेत्रमा रहेका होटलमा समेत फेवातालको माछा भन्दै बाहिरका माछा बेच्न थालेपछि जलारी समुदाय मात्र होइन्, आम ग्राहक र पर्यटकसमेत ठगिने गरेका छन् । होटलमा बस्ने पर्यटक पनि माछाका परिकार खाँदा तालकै लोकल माछा खान रुचाउँछन् तर उनीहरूलाई लोकल माछाको परिकार भनेर बाहिरको माछा खुवाउने गरिएको छ । अझ पोखराको हल्लनचोकदेखि हपर्न खोलासम्म फेवातालको माछा भन्दै तराईको माछा बिक्री हुने गरेको छ ।

यति मात्र होइन, फेवातालमा माछाको कालोबजारी हुँंदा समेत प्रहरीले उल्टै सुरक्षा दिँदै माछा झार्ने गरेको भेटिएको छ । पोखरा महानगरपालिका–१८ बुलौदीमा कालोबजारी भएको भन्दै स्थानीय बासिन्दा माछा रोक्न रातभर गस्तीमा खटिने गरेका छन् । तर, व्यवसायीले भने माझीहरू माछाका लागि जाल थाप्न जाने क्रममा माछा झार्ने गरेको बताउँछन् ।

हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष वीरेन्द्र जलारीले फेवातालमा उत्पादित माछा नबेची बाहिरबाट ल्याएर बेच्दा आफूहरूको व्यवसाय संकटमा पर्ने अवस्था आएको गुनासो गर्नुभयो । उहाँले बाहिरी माछालाई स्थानीय जातका भन्दै बेचेको भेटिएपछि आफूहरू सरकारी निकायमा गएको तर कुनै सुनुवाई नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘यसभन्दा अघि पनि कालोबजारीका विषयमा चर्काचर्की भएको थियो । हामीले व्यवसायी साथीहरूलाई पनि भनेका थियौं, हाम्रो क्षेत्रमा स्थानीय जातका माछा खानकै लागि र लिनकै लागि आउँछन् । बाहिरको माछा यो क्षेत्रभन्दा बाहिर बेच्नुपर्छ भन्ने हाम्रो माग हो ।’ उहाँले वडा प्रहरी कार्यालय बैदामका डीएसपीले आफूलाई भीड जम्मा गरेर राम्रो काम नगरेको भन्दै फोनबाट धम्की दिएको पनि बताउनुभयो ।

फेवातालमा विगत ५ वर्ष अघिदेखि बाहिरी माछा बिक्री हुँदै आएको भेटिएको दाबी गर्दै वीरेन्द्रले भन्नुभयो– ‘६ महिना अघिसम्म रातारात तराईबाट ल्याएर पसलमा झार्ने गरे पनि अहिले भने दिनदहाडै माछा झार्दा स्थानीयले तालमै छोपेको माछालाई समेत बाहिरको माछा भन्दै नकिनिकनै ग्राहक फर्कने गरेका छन् ।’ व्यवसायीले भने बाहिरको माछा सस्तो र बेच्दा समेत नाफा भएकै कारण बेच्ने गरेको बताएका छन् ।

तराईको माछा बेच्दै आउनुभएको राजु जलारीले भने फेवातालमा माछा नपाइएका कारण बाहिरबाट ल्याउनुपरेको दाबी गर्नुभयो । उहाँ भन्नुहुन्छ– ‘हामीले फेवातालको पनि बेचिरहेका छौं । अहिले माछा छैन । तराईको ल्याउनुपर्ने बाध्यता भएर मात्र ल्याइएको हो ।’

४० वर्ष अघिदेखि फेवातालमा माछा मार्दैै आइरहेका रामचन्द्र जलारी माछा किसान अन्यायमा परेको भन्दै माछाको कालोबजारीको विरोध गर्नुहुन्छ । न्युजअफनेपालबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*