श्रीमानको मृत्यु भएको १५ दिनमा श्रीमतीको हत्या

कोल्हवी न्यूज
२०७८ आश्विन ७, बिहीबार ०७:११

पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली भनिने धोन्नी टुडुको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो ।

झापा गाउँपालिका–१ मा रहेको माइतीमा आउने क्रममा बाटोमै उनको हत्या गरिएको प्रहरीले जनाएको छ । २४ भदौ राति करिब ११ बजेतिर माइत आउने क्रममा उनलाई आफन्तले नै हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनका श्रीमान्को १५ दिनअघि मात्र मृत्यु भएको थियो । घरमा उनकी सौता पनि थिइन् । उनीबाट सन्तान नभएपछि श्रीमान्ले कान्छी श्रीमती ल्याएका थिए । अहिले पनि उनका सन्तान छैनन् । उनीहरूबीच विगतदेखि नै पारिवारिक द्वन्द्व थियो । श्रीमान्को मृत्युपछि भने उनलाई सौता र उनका आफन्तबाट निरन्तर दबाब दिइँदै आएको प्रहरीले जनाएको छ ।

श्रीमान्को किरिया सकिएको भोलिपल्टै माइत आएकी उनलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । प्रहरीले २५ भदौमा झापा–१ स्थित सानो माई खोलामा धोन्नीको कम्मरमुनि र घुँडामाथिको भाग मात्र फेला पारेको थियो । उनको आन्द्रा खोलामा तैरिरहेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए । ‘टुडुलाई हत्या गरेर टुक्रा–टुक्रा पारी खोलामा फालिएको अवस्थामा भेटिएको थियो,’ उनले भने, ‘घुँडामाथि र कम्मरमुनिको भाग भेटियो । बाँकीचाहिँ अझै भेटिएको छैन ।’

उनको शरीरको अन्य भाग भने अझै नभेटिएको उनले बताए । घटना भएको स्थान नेपाल–भारत सीमादेखि करिब ३५ मिटर उत्तर मात्र हो । ‘हत्या करिब तीन सय मिटरमाथि भएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले भने, ‘शरीरको अंगचाहिँ सीमादेखि ३५ मिटरमाथि मात्र भेटियो ।’

हत्या आरोपमा चारजना पक्राउ
हत्या आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका भाञ्जा भारत घर भएका २३ वर्षीय ऐतवार सोरेन र मृतकको सौताका भाइ झापा–१ का ३७ वर्षीय लखन टुडु सतार रहेको उप्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । यस्तै, घटना थाहा पाएर पनि लुकाउन सहयोग गरेको अभियोगमा प्रहरीले झापा–१ का ५६ वर्षीय सिरी साइला भनिने सोमाई हेमरम सतार र सोही ठाउँका २७ वर्षीय श्री हेमरम सतारलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूलाई १ असोजमा झापा गाउँपालिकाबाट पक्राउ गरिएको हो । पक्राउ परेकालाई जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाले धोन्नी टुडुको हत्या गरेर धारिलो हतियार दाउले शरीर टुक्रा–टुक्रा पारेर फालेको स्वीकार गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानबाट उनलाई हत्या गरिनुको मुख्य कारण पारिवारिक बेमेल रहेको पाइएको प्रहरीले जनाएको छ । श्रीमान्को मृत्युपछि उनलाई सौताले बोक्सीको आरोप लगाउँदै आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भट्टराईले बताए । ‘श्रीमान्को मृत्युपछि सौताले उनलाई अवहेलना गर्दै आएकी रहिछन् । उनलाई बोक्सीको आरोप लगाउँदै उनकै कारण श्रीमान्को मृत्यु भएको भन्दै हिंसा गर्ने रहेछन्,’ उनले भने, ‘मृतक र उनको देवरसँग जग्गासम्बन्धी विवाद पनि रहेछ ।’नयाँपत्रिकाबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*