किन चलेन ‘डाँडाको बर पीपल’ को गीत ?

कोल्हवी न्यूज
२०७८ आश्विन ७, बिहीबार ०७:०६ गते

फिल्ममा गीतको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । फिल्ममा गीतसंगीतले कथावाचनको काम गर्छ । तर, पछिल्लो समय नेपाली फिल्ममा समावेश हुने गीत कथाको मागभन्दा पनि दर्शकलाई हलसम्म आकर्षित गर्नका लागि राखिने गरेको पाइन्छ । गीत चल्यो भने त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास फिल्मकर्मीहरुमा छ । यसैले अचेल फिल्ममा गीत अनिवार्य झैँ बनेको छ ।

फिल्ममा गीतलाई प्राथमिकता दिने निर्देशकमा शोभित बस्नेत पनि पर्छन् । एक समय उनले निर्देशन गर्ने फिल्मका हरेक गीतले बजार पिट्थे । आज पनि कति गीतहरु चर्चित छन् । पहिला भिसिडी विक्रीको आधारमा गीतको लोकप्रियता मापन गरिन्थ्यो । अचेल गीतको लोकप्रियता मापन गर्ने तराजु यूट्युब बनेको छ । यूट्युब भ्यूजको आधारमा गीतलाई हिट र फ्लप भन्ने गरिएको छ ।

शोभित निर्देशित नयाँ फिल्म ‘डाँडाको बर पीपल’ को ‘काट्दिम्ला जुँगा जम्मै’ गीत आइतवार एक कार्यक्रमका बीच सार्वजनिक गरियो । गीतमा अघिल्लो पुस्ताका शिव श्रेष्ठ, भुवन केसी, गौरी मल्लदेखि नयाँ छिमलका सलोन बस्नेत, रुविना थापासम्मले ठुम्का लगाएका छन् । मल्टीस्टारर यो गीतले यूट्युबमा आक्रामक भ्यूजसहित दर्शकको वाहवाही बटुल्नेमा निर्माण टिम विश्वस्त थियो ।

तर, यूट्युब रिलिजको दुई दिन वितिसक्दा पनि गीतले एक लाख भ्यूज कटाउन सकेको छैन । यो समाचार तयार गर्दासम्म गीतलाई ६६ हजारको आसपास भ्यूज मिलेको छ, जुन ज्यादै न्यून हो । किनकि, गीतमा नाम चलेका कलाकारहरुको अभिनय छ । अडियो र भिडियो पनि कमजोर छैन । एकाधबाहेक गीतलाई प्राप्त प्रतिक्रियाहरु पनि पढ्न लायक छ । तर, गीत भने चल्न सकेको छैन ।

यो गीत जुन यूट्युब ९बुढा सुब्बा० बाट सार्वजनिक भएको छ, त्यसमा फिल्मका गीत सार्वजनिक नभएको लामै समय भइसकेको छ । उक्त च्यानलमा कोभिडपछि विभिन्न म्यूजिक भिडियो र सिरियल अपलोड हुँँदै आएका कारण गीतमाथि दर्शकको नजर पर्न नसकेको हुनसक्ने वा दर्शकले म्यूजिक भिडियो सम्झिएका कारण गीतलाई गतिलो भ्यूज मिल्न नसकेको कतिपयको बुझाई छ ।

कार्यक्रममा कलाकारबीच ‘महानायक र महानायिका’ को पदवी दिन चलेको होडबाजीको असर पनि गीतको भ्यूजमाथि परेको हुनसक्ने देखिन्छ । किनकि, दर्शकको ठूलो वर्ग ‘महानायक’ उपाधि राजेश हमालबाहेक अरुलाई दिएको सुन्नै चाहँदैन । भुवन केसीले भने शिव श्रेष्ठलाई ‘महानायक’ भनिदिए । यसले गर्दा पनि दर्शकले गीत हेर्न रुची नदेखाएको हुनसक्ने धेरैको अनुमान छ ।

स्वर्गीय खेमराज गुरुङ र गायिका रिमा गुरुङ होडाको स्वर रहेको गीतमा उमंग लामा र केशव चौलागाईंको शब्द, उमंग लामाले संगीत भरेका छन् । भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ । यही असोज २६ गते फूलपातीबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई नवराज गिरीले निर्माण गरेका हुन् भने सुशान्त प्रजापतिकोे छायांकन र मित्रदेव गुरुङको सम्पादन रहेको छ । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*