विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत खर्च गर्न चुनौती : अर्थमन्त्री
अर्थमन्त्री जनार्दन शर्माले विकास रणनीति स्पष्ट नहुँदा पूँजीगत खर्च गर्न चुनौती भएको बताएका छन् । मंगलवार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले नेपालमा समग्र विकास रणनीतिमा नै समस्या रहेको बताए ।
अर्थमन्त्री शर्माले सरकारले प्रत्येक महीना कम्तीमा १० प्रतिशत बजेट खर्च गर्नुपर्ने नीति बनाउन लागेको बताए । उनले खर्च नहुने ठाउँमा पैसा राख्ने र खर्च हुने ठाउँमा पैसा नराख्ने खालको प्रवृत्ति सच्याउनका लागि आफूले प्रयास गरिरहेको पनि बताए ।
उनले विकासको कामका स्पष्ट रणनीति नभएका कारण पूँजीगत बजेटको खर्च कसरी गर्ने भन्ने चुनौती रहेको बताए । अर्थमन्त्री शर्माले अर्थ मन्त्रालयले अन्य मन्त्रालयहरुलाई र मन्त्रालयहरुले सम्बन्धित परियोजनालाई आवश्यकता अनुसार बजेट हेरफेर गर्न दिनुपर्ने पनि बताए ।
उनले मुलुकको हितलाई ध्यानमा राखेर वैदेशिक लगानी खुला गर्नुपर्ने बताए । राष्ट्र र जनताको अहितसँग सम्बन्धित शर्त छन् भने त्यस्तो लगानीको सन्दर्भमा भने विचार गर्नुपर्ने उनको भनाइ थियो ।









