सिकाइका अभ्यासहरु

चन्द्रमणि रिमाल
२०७८ श्रावण २६, मंगलवार ११:५२

चन्द्रमणि रिमाल कोल्हबी–१ खैरा, बारा

कोरोनाको दोस्रो महामारीका कारण बैशाखबाट देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प भए । यो समयमा ७० लाख बालबालिकाहरु घरमै बसिरहेका छन् । यो समय अनलाइन शिक्षा पहिला सुरु गर्ने विद्यालयहरुले उपयुक्त समय हो भनेर केहीले त कक्षा सुरु गरेर परीक्षा पनि अनलाइनबाटै लिए । तर पारदर्शितामा प्रश्न चिन्ह नै खडा भएको थियो । नेपालकै राम्रा गनिएका स्कुलहरुले चुनौति खेप्नु परेको अनुभव सुनाएका छन् । धेरै अभिभावकहरुलाई समेत आफ्ना नानीबाबुहरुलाई अनलाइन कक्षामा सहभागिता पहिला जसरी मुस्किल परेको थियो दोस्रो चरणमा पनि अप्ठ्यारो नपरेको भने पक्कै होइन ।
कतिपय विद्यालयले आफ्नो वार्षिक परीक्षा लिन पाएनन्, कतिले एकै दिनमा दुइटा परीक्षा लिएर सक्न बाध्य भए त कतिको एक दुई विषयको परीक्षा लिन बाँकी नै थियो । त्यस्तै कुनै कुनै विद्यालयमा आधारभूत तहको परीक्षा नै भएन । अनि कुनै कुनैमा पहिलो र दोस्रो परीक्षाका आधारमा नतिजा निकालियो । यसरी हेर्दा साच्चै वास्तविक मूल्याङ्कन भएको छ त ?
कोरोनाको दोस्रो महामारीका कारण तराईका अधिकांशमा बढ्दो मानसिक र सामाजिक सन्त्रासका माझ ल्यापटप, मोबाइल, नेट, जुम, अनलाइन, गुगल क्लास, गु्रप–च्याटिङ ह्याट्स एप आदिको अर्को सन्त्रास थपिएको छ । सबैको घरघरमा सबै पहुँच नहुँदा समस्याको डोरीमा तुर्लुङ्ग झुन्डिन बाध्य छन् तराई बासी । सरकारले निर्णय गर्छ त केबल सहरी क्षेत्रका लागि मात्र । तराईका न्यून आय भएकाहरुका लागि अनलाइन शिक्षा दिवा स्वप्नसरि नै भएको थियो हिजो पनि र आज पनि यथावतै नै छ । दिनभर ज्याला मजदुरी गरेर छोरा–छोरी पढाउने र बिहान–बेलुकाको जोहो टार्ने दैनिकीमा हराइरहेका आम तराईबासीका लागि एकसाथ दुई चिन्ता थपिएका छन् – पहिलो, कोरोना सङ्क्रमण होला कि भन्ने भय, दोस्रो, स्कुलले सुरु गरेको अनलाइन कक्षाको तारतम्य मिलाउने बाध्यता । यतिखेर
आफ्ना छोरोछोरीको पढाइगुनाइमा नसोचेको तथा नजानेको झन्झट बेहोर्न बाध्य छन् आम किसानहरु रोपाइँको चपेटामा रुमलिएकाका लागि विद्यालयबाट आएको फोनसमेत उठाउन नभ्याएकाहरुले कसरी आफ्ना बालबालिकालाई अनलाइन कक्षामा सहभागी गराउन सक्छन् र ? अनलाइनको पहुँच नहुने किसानहरु आतङ्कित बनेका छन् । कतै मेरा बच्चाहरु सिकाइबाट बञ्चित त भएनन् ? भनेर पीडामा रुझिरहेका छन् । आफ्नो आयश्रोत कमजोर भएकाहरुका लागि यो अनलाइन त्यति प्रभावकारी नभएकै देखिन्छ र रुचि पनि कम भएको पाइन्छ । यथार्थमा विद्यार्थीले फेसबुक वा मेसेन्जर चलाउनु भनेको ‘प्राविधिक साक्षरता’ होइन । यो विद्यार्थीका लाथि अवैधानिक तथा अनाधित्रृmत मानिन्छ, उनीहरुको उमेरले । यस्ता कुरा फेरि विद्यालयले गराइरहँदा कतिसम्म जायज कुरो हो ? गाउँघरमा अझै पनि देखिन्छ– आफूसँग भएको स्मार्ट फोनमा १ सय रुपैयाँको डाटा प्याकेज भरेपछि प्रायजसो विदेशमा रहेका आफन्तलाई मेसेन्जर, इमो वा भाइबरबाट कल गरी गफ गर्ने प्रचलन रहेको । त्यस्तै ‘जुम’ के हो ? डाउनलोड कताबाट गर्ने अथवा ग्रुप–च्याट कताबाट सुरु हुन्छ, केही पत्तो नभएका अधिकांश अभिभावकहरु पनि हाम्रै छरछिमेकमा छन् । कतिपय गाउँ–बस्तीमा फोनको नेटवर्क भेट्न अलि पर जानुपर्ने अवस्थामा देखासिकी अनलाइन पढाइ थालेको उनीहरुका लागि टोक्नु न बोक्नु भएको छ ।
ल्यापटप, मोबाइल वा कम्प्युटर भए पनि बिजुली कुन बेला जान्छ कुन बेला आउँछ थाहा हुँदैन । अनि बोलेका कुराहरु सबै स्पष्ट सुन्दैनन् विद्यार्थीहरुले । केरे भन्दा भन्दै १ घण्टा बितेकै पत्तो नै हुँदैन । अझ गाउँगाउँमा भएका विद्यार्थीलाई अनलाइन कक्षामा समेट्न झन् ठूलो चुनौति छ । मोबाइलमा डाटा होइन, दुर्गभ भेगमा राम्रोसँग नेटवर्कसमेत टिप्दैन । त्यस्तै मोबाइल पनि राम्रोसँग चलाउन नआउने धेरै विद्यार्थीहरु अझै पनि छन् । मोबाइलमा भएका एप्सहरुको सही सदुपयोग गर्न नजान्दा कतिपय अवस्थामा दुर्घटना निम्तिएको थाहा नै छ ।
शिक्षाविद् डा. विद्यानाथ कोइरालाले अनलाइन कक्षा भनेर मोबाइलबाट पढाइने विधि समयको बर्बादी मात्रै हो भनी भनेका छन् । “भिडियो च्याट जसरी हुने पढाइले सिकाइमा तात्विक सुधार आउँदैन ।” “विद्यालयमै उपस्थित हुँदा त सिकाइमा रुचि नजगाउने प्रणालीले अनलाइनबाट के सिकाउँछ ?” स्रोतसाधन र सूचना प्रविधिको पहुँचका कारण पनि देशभरका बालबालिका बीच अनलाइन पढाइ तत्कालै सम्भव छैन भनी शिक्षाविद् डा. विद्यानाथ कोइरालाको स्पष्टोक्ति छ ।
सिकाइ रुपान्तरणका लागि शिक्षालाई जीवनसँग जोड्ने, विद्यार्थीको बुद्धिमता र आवश्यकता अनुसार ज्ञान र बुझाइको निर्माण र सिर्जनाको आधारमा सिकाउनुपर्छ । यसका लागि दुईवटा उत्कृष्ट अभ्यासहरु सिकाइ अर्थात प्रोजेट बेस्ट लर्निङ (पिबिएल) र मल्टिपल ईन्टेलिजेन्सको सिद्धान्तको समीश्रण वा जोड आवश्यक छ । पिबिएल जोन डिवी, जाँ पियाजे, लगायत थुप्रै शिक्षाविद् तथा मनोवैज्ञानिकहरुको खोजबाट उदाएको प्रगतिशिल शिक्षा वा प्रोग्रेसिभ एजुकेशनमा आधारित प्रत्यक्ष वास्तविक जीवनसँग जोड्ने क्रियाकलापहरु गरेर सिक्ने एक्काइसौं शताब्दीको एक उत्कृष्ट शिक्षण प्रक्रिया हो । तर, याद होस् नामबाट नझुक्किनु होला यो नेपालमा कम्युनिष्टहरुले भन्ने गरेको माक्र्सवादी प्रगतिशील शिक्षा जस्तो चाहिँ बिलकुलै हैन ।
यतिबेला पाठ््यपुस्तक, वर्कशीट, होमवर्क, आदिबाट बाहिर आउन सक्नु नै शिक्षालाई जीवनसँग जोड्नु हो । यहाँ किताब पढ्नु खराब भन्न खोजेको हैन, किताब अवश्य चाहिन्छ । तर, एक्लो किताबलाई सम्पूर्ण मानेर शिक्षालाई जीवन र जगत्बाट विमुख बनाउनुचाहिँ गल्ती नै हो । त्यसैले, दैनिक जीवनमा गर्दै आएका गतिविधि र घरमा उपलब्ध सामग्रीहरुको प्रयोगबाट गर्न सकिने क्रियाकलापलाई शिक्षा र सिकाइसँग जोड्ने कार्य प्रारम्भ गर्नुपर्दछ ।
शिक्षा जीवनसँग जोडिन्छ, एकातिर हामीले परम्परागत रुपमा पढाउनु पर्दैन भने अर्कोतिर विद्यार्थीहरु “म पढीरहेको छु, यो गाह्रो छ, धेरै मेहेनत गर्नुपर्छ” भन्ने अप्रिय सोच बाहिर आउँछ । थाहै नपाई उसलाई मनपरेको गतिविधि गर्दागर्दै सिकाइको लक्ष्य पूरा हुन जान्छ ।
विशेषतः हरेक बच्चामा अन्तर्निहित क्षमता हुन्छ त्यसलाई चिनेर फरक बच्चा वा समूहलाई फरक खालको क्रियाकलाप विकास गरी प्रक्रियामा ढाल्दा एकीकृत सिकाइ प्रस्तुति अत्यन्त रमाइलो एवम् प्रभावकारी हुने गर्दछ ।
यो त केही उदाहरण मात्र हो, कुरोको चुरो भनेको शिक्षा जीवनमै छ र जीवनकै लागि हो भन्ने हो । जीवनबाट अलग्याएर सिकाउनु भनेको उसलाई वास्तविक ज्ञान र सिकाइबाट विमुख गराउनु हो । सम्भावना अथाह छ, त्यही थाहा नभएर दुःख भएको मात्र हो । हाम्रो शिक्षकहरुको एउटा महान् भूल भनेको एउटै तरिकाले सबैलाई पढाउनु र एउटै क्रियाकलाप सबै विद्यार्थीहरुलाई जसरी भएपनि गराउनु हो । यो भूल विद्यालय, शिक्षक तथा अभिभावकबाट कदापि हुनुहुँदैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*